दिपायलको प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्न प्रहरी प्रधान कार्यालयको निर्देशन

दिपायलको प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्न प्रहरी प्रधान कार्यालयको निर्देशन

डोटी : जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित तत्कालीन सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय तथा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल तत्काल कैलालीमा सार्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयले पत्र पठाएर तत्काल कार्यालय सार्न निर्देशन दिएको निमित्त प्रदेश प्रहरी प्रमुख देवबहादुर बोगटीले बताए । उनले भने, ‘प्रदेश कार्यालय र प्रहरी अस्पताल कैलाली सार्नू भन्ने पत्र आएको छ, आदेशअनुसार हामी कार्यालय सार्ने तायारीमा लागेका छौँ ।’

कोभिड –१९ को त्रास फैलिइरहेका बेला सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल र कार्यालय सारिनु दुःखद् भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए । उनले भने, ‘देशमा कोरोनाका त्रास छ, बरु स्वास्थ्यकर्मी थप्नुपर्ने बेलामा भएका कार्यालय र अस्पताल सार्नु भनेको दुःखद कुरो हो, यसमा मेरो घोर आपत्ति छ ।’

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने निर्देशन दिएपछि अहिले यहाँका बासिन्दा निकै आक्रोशित भएका छन् । आक्रोशित व्यक्तिले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा समेत उक्त निर्णयको विरोध गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले पठाएको उक्त पत्रमा दिपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी अस्पतालमा भएका भवन अर्को आदेश नभएसम्मका लागि प्रदेश प्रहरी तालीम केन्द्र दिपायललाई दिनू भन्ने उल्लेख छ ।