प्रयोगशालाको विस्तार गर्दै आजदेखि पोखरा र धनगढीबाट पनि कोभिड-१९ को नमूना परीक्षण शुरू गरिने भएको छ। त्यसका लागि हिजै, १८ चैतमा पीसीआर उपकरणहरू सम्बन्धित ठाउँमा पुर्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि १६ चैतबाटै कोभिड-१९ को नमूना परीक्षण शुरू गरिसकिएको थियो। हिजो पोखरा र धनगढीमा नेपाली सेनाको हेलिकप्टरबाट प्रयोगशालामा प्रयोग हुने उपकरणहरू लगेर जडान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जनकपुरमा पनि पनि प्रयोगशालाका लागि उपकरण पठाइसकिएको छ। त्यस्तै बुटवल र सुर्खेतमा पनि केही दिनमै पठाइने छ। हेटौंडामा भने त्यहीँ रहेको प्रयोगशालालाई प्रयोग गर्ने गरी प्राविधिक टोली पठाइएको छ।
अन्य स्थानमा पनि आवश्यकता अनुसार प्रयोगशाला विस्तार गरिने प्रवक्ता देवकोटाले हिजो प्रेस ब्रिफिङमा जानकारी गराएका छन्। अहिलेसम्म कूल एक हजार ६० जनाको नमूना परीक्षण गरिएको छ। तीमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
एकजना निको भइसकेका छन् भने चारजना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत् छन्।