दिल्लीको मस्जिदमा कोरोनाको आशंका, धार्मिक सभामा १९ नेपाली सहभागी

दिल्लीको मस्जिदमा कोरोनाको आशंका,  धार्मिक सभामा १९ नेपाली सहभागी

कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा १९ जना नेपाली सहभागी भएको खुलेको छ।भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले निजामुद्दिनस्थित उक्त मस्जिदको धार्मिक सभामा सहभागी भएका सबै नेपालीको नाम र नेपालको ठेगाना दूतावाससँग भएको जानकारी दिए।

‘सबै १९ जनाको नेपालको ठेगाना हामीले पठाइसकेका छौं तर उनीहरू अहिले भारतमै छन् कि नेपाल फर्किइसके भन्ने एकिन छैन, हामी पत्ता लगाउन प्रयास गरिरहेका छौं,’ राजदूत आचार्यले भने।आचार्यका अनुसार उक्त मस्जिदको मदरसामा १३ जना नेपाली विद्यार्थी पढ्थे।‘यी विद्यार्थीहरू धार्मिक सभामा सहभागी नभएकाले उनीहरूलाई संक्रमणको सम्भावना कम छ,’ राजदूत आचार्यले भने,‘धार्मिक सभामा सहभागी भएकाको खोजी र विद्यार्थीको स्वास्थ्य परीक्षणमा हामीले भारतीय अधिकारीसँग समन्वय गरिरहेका छौं।’उनका अनुसार ती विद्यार्थीको स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने जिम्मा भारतीय पक्षले नै पूरा गर्नेछ।

यो पनि पढ्नुस्:

दिल्लीको मस्जिदमा कोरोनाको आशंका, पोखरामा बाबुलाई पीर

टाइम्स अफ इन्डियाले अहिलेसम्म उक्त धार्मिक सभा सहभागी भएकामध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।अहिलेसम्म मस्जिदभित्र रहेका  १०३३ जनालाई बाहिर निकालिएको छ भने  तीमध्ये तीन सय जनालाई अस्पताल पठाइएको छ र सात जनालाई क्वारेन्टिनमा राखिएको छ।उक्त धार्मिक सभामा सहभागीमध्ये ९ जना भारतीय र एक जना फिलिपिन्सका नागरिकको कोरोना भाइरसका कारण ज्यान गएको टाइम्स अफ इन्डियाल  जनाएको छ।

कसरी आइपुग्यो मस्जिदभित्र कोरोना?

मार्च पहिलो साता ताबलिवी जमातले नयाँदिल्लीको निजामुद्दिनमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा धार्मिक प्रार्थना आयोजना गरेको थियो।वर्षभरि मुस्लिम धर्मालम्बीहरूले आउजाउ गरिरहने सय वर्ष पूरानो उक्त मस्जिदमा संसारभरिबाट श्रद्धालु आएका थिए। तीमध्ये केही साउदी अरेबिया, इन्डोनेसिया, मलेससियालगायत देशका पनि थिए।  जतिबेला उनीहरू भारत आए त्यतिन्जेल उनीहरूको देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालिसकेको थियो।भारतका विभिन्न राज्यबाट पनि मानिसहरू प्रार्थनामा आए। प्रार्थना सकेर आ(आफ्नो घर फर्किए।गत बिहीबार उक्त प्रार्थनामा सहभागी भएर फर्किएका जम्मु कस्मिरका एक जना तीर्थयात्रीको मृत्यु भयो।

उनको मृत्युलाई कसैले वास्ता गरेन। ६५ वर्ष पुगिसकेका उनको मृत्यु स्वभाविक ठानियो।तर पछि निजामुद्दिनबाट फर्किएकाहरू तमिलनाडु, तेलंगना, केरला, पश्चिम बंगालमा बिरामी पर्न थाले। जाँच्दा उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।त्यसपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मस्जिद सिल गर्न निर्देशन दिएका थिए।