लकडाउनमा फोनको पैसा कसरी तिर्ने? रिचार्ज कसरी गर्ने? यी हुन् उपाय

लकडाउनमा फोनको पैसा कसरी तिर्ने? रिचार्ज कसरी गर्ने? यी हुन् उपाय

नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा केआईओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन/मोबाइल बैंकिङ सेवाहरु तथा विभिन्न बैंकका भिसा कार्ड/मास्टर कार्डका विकल्पहरु उपलब्ध रहेको जनाएको छ।

यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज (यहाँ क्लिक गर्ने)मा उपलब्ध गरिएको टेलिकमले जनाएको छ।

हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको हुनाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकवर्गलाई कठिनाई हुनसक्ने देखिएको छ।

ग्राहकले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको हो।

(क) मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा केआईओएसके मेसिन
यसअन्तर्गत कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ।

(ख) विभिन्न भुक्तानी सेवाका एपहरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु इसेवा, खल्ती, आईएमई पे आदिका एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ। 

(ग) विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बैंकको वेबपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

(घ) विभिन्न बैंकका भिसा/मास्टर कार्डहरु
चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न (यहाँ क्लिक गर्ने) मा लगअन गर्नुपर्दछ ।

सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति, कार्ड होल्डरको नाम र सीभीभी (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी ‘ओके’ गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।

माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसका लागि मोबाइलबाट 'स्टार-४२२-स्टार-एसकोड -स्टार -मोबाइल नम्बर- स्टार -अमाउन्ट इन रुपिज - ह्याक्स' डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको एससीओडीई (सेक्युरिटी कोड) प्राप्त गर्न एससीओडीई टाइप गरी १४१५ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

यसरी ब्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकमसहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ ।