रुघाखोकीले बाजुराको सिङ्गो गाउँ प्रभावित, स्थानीय त्रसित

रुघाखोकीले बाजुराको सिङ्गो गाउँ प्रभावित, स्थानीय त्रसित

बाजुरा : यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।

एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए ।

परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन् । सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन् । कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।