शुक्लाफाँटा नगरपालिकामा विदेशबाट आएकाको संख्या सात सय बढी

शुक्लाफाँटा नगरपालिकामा विदेशबाट आएकाको संख्या सात सय बढी

कञ्चनपुर : विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेको छ।

संकलित तथ्यांक अनुसार विदेशबाट घर फर्कनेको संख्या सातसय ४९ रहेको छ। जस मध्ये भारतबाट मात्रै सातसय ३९ र अन्य मुलुकबाट १० जना घर फर्केका छन। महिला स्वास्थ्य स्वयंसेविकामार्फत नगरपालिकाले विदेशबाट आएका व्यक्तिको अभिलेख संकलन गरेको हो। भारत बाट फर्केकाहरूमा अधिकांश मजदुरी गर्न गएका व्यक्तिहरू रहेका छन्।  

दुवईबाट पाँच, अमेरिकाबाट एक, साउदी अरेवियाबाट दुई, बंगलादेशबाट एक र थाइल्याण्डबाट एक नगरपालिकाका बासिन्दा घर फर्केको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। 'भारतबाट फर्केका एक जनामा ज्वरो र चार जनामा रुघाखोकीको समस्या देखिएको छ' उनले भने, ‘ज्वरो आएका र रुघाखोकी लागेका व्यक्तिलाई महाकाली अस्पतालमा उपचारका लागि पठाइएको छ।’

अन्य बाँकीको अवस्था सामान्य रहेको उनले बताए। 'विदेशबाट फर्केकालाई अनिवार्य रुपमा घरमै क्वारेन्टाइनमा बस्नका लागि भनिएको छ' नगर प्रमुख दिलबहादुर ऐरले भने,‘परिवारको सम्पर्कमा नआउने गरी घरमै क्वरेण्टाइनमा बस्न लगाएका छौं।

कोरोनाका लक्षण देखिए नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न भनेका छौं।’ विदेशबाट आएर पनि क्वारेन्टाइनमा नबस्ने, गाउँघरमा घुम्ने गरेको देखिए प्रचलित कानुन अनुसार कारवाही हुने उनको भनाई रहेको छ। नगरपालिकाले नगर प्रमुखको संयोजकत्वमा पूर्व तयारी कार्यसम्बन्धी समिति गठन गरिएको छ। 

नगरपालिकाका १२ वटै वडामा वडास्तरीय समिति समेत गठन गरी कोरोना भाइरस रोकथामका लागि कार्य अगाडि बढाइएको छ। कोरोना भाइरस रोकथाम तथा पूर्व तयारीका लागि नगरपाकिाले २० लाखको आकस्मिक कोष समेत खडा गरेको छ।