अब अकाउन्ट नखोलिकनै फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

अब अकाउन्ट नखोलिकनै फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ । फेसबुकमा लाइभ भिडियोको बढ्दो प्रयोग तथा भिडियो हेर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै फेसबुकले नयाँ सुविधा थप गरेको छ ।

जसअनुसार, अब फेसबुकमा खाता नखोलिकनै पनि मोबाइल डिभाइसबाट फेसबुकका लाइभ भिडियो हेर्न पाइनेछ । यसअघि यो सुविधा केवल डेस्कटप प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो ।

यो फिचर तत्कालै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ भने आगामी हप्ता आईओएस प्रयोगकर्तालाई पनि उपलब्ध हुने बताइउको छ ।

त्यस्तै फेसबुकले Public Switch Telephone Network नामक नयाँ फिचर पनि थप गर्दैछ । उक्त फिचरमार्फत प्रयोगकर्ताले टोल फ्रि नम्बरबाटै फेसबुकको लाइभ स्ट्रिम सुन्न सक्नेछन् । स्मरण रहोस् फेसबुक लाइभमा केवल अडियो मात्र सुन्न सकिने ‘अडियो वन्ली’ मोड समेत रहेको छ ।

विश्वका अर्बौँ मान्छेहरू लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य भैरहेको बेला फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या तिव्र वृद्धि भैरहेको छ । रिपोर्ट अनुसार ग्रुप भिडियो कलमा ७० प्रतिशतले वृद्धि भएको छ भने फेसबुक र इन्स्टाग्राम लाइभमा मानिसहरूले बढि समय बिताउने गरेका छन् ।

अत्यधिक प्रयोगका कारण इन्टरनेट संरचनामै परेको अभूतपूर्व चापलाई मध्यनजर गर्दै फेसबुक र इन्स्टाग्रामले ल्याटिन अमेरिका र भारतमा समेत भिडियो क्वालिटी घटाउने घोषणा गरिसकेका छन् । यसअघि यी युरोपमा यी दुबै प्लाटफर्मले भिडियो क्वालिटी घटाइसकेका छन् ।