कोरोनाबारे अन्यौलता : खोप बन्न एक वर्ष लाग्ने, मानिसलाई प्रतिरोधी बनाउन दुई वर्षभन्दा बढी लाग्ने

कोरोनाबारे अन्यौलता : खोप बन्न एक वर्ष लाग्ने, मानिसलाई प्रतिरोधी बनाउन दुई वर्षभन्दा बढी  लाग्ने

अहिले विश्वका ठूला सहरहरु सुनसान बनेका छन् । विद्यालय, अत्यावश्यक बाहेकका कार्यालय तथा व्यवसायहरु ठप्पजस्तै छन् ।

पर्यटन क्षेत्र सुनसुन छ । सङ्क्रमित थपिने र ज्यान गुमाउनेको सङ्ख्या प्रतिदिन बढिरहेको छ । अहिले धेरैको मनमा उठ्ने प्रश्न हो – यो भाइरसको नियन्त्रण कहिले हुन्छ ? स्पष्ट जवाफ कसैले दिन सकेको छैन । 

बेलायतका प्रधानमन्त्री प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले कोरोना भाइरसको प्रभावलाई आउँदो १२ हप्ताभित्र नियन्त्रण गर्न सक्ने विश्वास व्यक्त गर्नु भए पनि त्यहाँका डाक्टरहरुले चुनौती रहेको बताएका बीबीसीले जनाएको छ । 

डाक्टरहरु आउँदो तीन महिनामा सङ्क्रमणको सङ्ख्यामा कमी आउन थाले पनि त्यसको अन्त्य निकै टाढा रहेको बताउँछन् । संभवतः यसको प्रभाव मानिसको नियन्त्रणमा आउन वर्षौ लागन सक्ने बीबीसीले विभिन्न अध्ययनलाई उल्लेख गर्दै बताएको छ । 

विश्व स्वास्थ्य संगठनले अहिलेको जस्तो ‘लकडाउन’ले मात्र कोरोना सङ्क्रमण नियन्त्रणमा नआउने भन्दै चेतावनी दिइसकेको छ । अहिलेकोजस्तो प्रतिबन्धहरूको रणनीति दिगो नहुने र यस्ता प्रतिबन्धहरुले निम्त्याउने सामाजिक र आर्थिक क्षति डरलाग्दो हुने बीबीसीले उल्लेख गरेको छ । 

तर अहिले नै प्रतिबन्धहरु हटाएमा अवस्था डरलाग्दो हुने पनि विज्ञहरुले बताएका छन् । 

निकासको योजना के हो र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौँ भन्ने विषय ठूलो समस्या भएको युनिभर्सिटी अफ एडिनबराका सरुवा रोग विषयका प्राध्यापक मार्क वुलहाउसले बताउनुभएको बीबीसीले जनाएको छ ।

यो विश्वको चिन्ता हो । कोरोना भाइरस अहिले विश्वमा निकै ठूलो वैज्ञानिक र सामाजिक चुनौती बनेर आएको छ । भाइरस फैलिन रोक्न कम्तीमा ६० प्रतिशत मानिसलाई प्रतिरोधी बनाउनुपर्ने र यसको उपाय खोप भएको तर खोप बन्न कम्तीमा एक वर्ष लाग्ने अध्ययनमा संलग्नहरुले बताएका छन् । 

खोपको विकासका लागि काम भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन । प्रतिरोधी क्षमता बढाउन भने अझै कम्तीमा दुई वर्ष लाग्ने बीबीसीले उल्लेख गरेको छ । 

सङ्क्रमणको दर कम भएमा प्रतिबन्धहरु केही खुकुलो पार्न सकिएपनि मानिसहरु लामो समय अलग्गिएर तथा सावधानीका उपायहरु अपनाएर बस्नुपर्ने विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।