जिल्ला अस्पताल बाजुरामा आइसोलेसन कक्ष, चार ठाउँमा हेल्थ डेक्स

जिल्ला अस्पताल बाजुरामा आइसोलेसन कक्ष, चार ठाउँमा हेल्थ डेक्स

बाजुरा : विश्‍व व्यापारिक रुपमा फैलिएको कोरोना बाइरस (कोभिड १९) फैलिन नदिन जिल्ला प्रशासन कार्यालय बाजुराले सर्तकता अपनाउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ । जिल्ला अस्पताल बाजुरामा आइसोलेसन कक्षको स्थापना गरेको छ ।

तीन शैयाको आइसोलेसन कक्ष स्थापना गरी आवश्यक औषधि जनशक्तिको प्रबन्ध गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिएको छ । अग्रीम तयारीको रुपमा तीन शैयाको आइसोलेसन स्थापना गरिएको भएपनि आवश्यकताको आधारमा शैया थप्न सक्ने तयारी गरेको विश्वकर्माले बताए ।

जिल्ला अस्पतालमा आइसोलेसन स्थापना गरिएसँगै जिल्लाका नौ वटा स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कोरोना भाइरससम्बन्धी जनचेत्तना र रोकथामको कारेमा प्रचारप्रसार गर्न निर्देशन गरिएको डाक्टर विश्वकर्माले बताए ।

कोरोनाबारे जानकारी दिन महिला स्वास्थ्य स्वयम सेविका स्वास्थ्यकर्मीलमार्फत सबै स्थानीय तहमा जनचेतना फैलाउन निर्देशन दिएको उनले बताए । त्यसै बाजुरा जिल्लामा आगमन हुने चारवटा नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ ।

हेल्थ डेक्स रहने नाकामा साफे मार्तडी सडकमा पर्ने अछाम जिल्लासँग जोडिएको डाब बजार, सदरमुकाम मार्तडी बस पार्क,कोल्टि बिमानस्थल र कालिकोट जिल्लाको नाका जुड्डीमा स्थापना गरिने भएका छन्। 

बुधबार जिल्ला दैविक प्रकोप उद्दार समितिको बैठक बसी कोराना भाइरस रोग लाग्न नदिन यसबारे सचेतना जगाउन सबै सरोकारवालालाई आग्रह गरेको छ । बैठकबाटै हेल्थ डेक्स स्थापनाको लागि निर्णय भएपनि त्यसको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले जानकारी दिएको छ।