कैलालीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना

कैलालीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना

धनगढी : भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर भन्सार नाकामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरूप बुधवार निगरानी कक्ष स्थापना गरिएको छ । उक्त नाकाको कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिका कार्यालयको पहलमा स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरी निगरानी कक्ष स्थापना गरिएको हो ।

निगरानी कक्षमा तत्कालका लागि तीनोटा बेड राखिएकामा आवश्यकताअनुसार थप व्यवस्था गरिने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । निगरानी कक्षमा आवश्यक औषधि र स्वास्थ्य परीक्षण गर्ने उपकरणसहित चौबीसै घण्टा स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ ।

निगरानी कक्षको प्रयोजनका लागि अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । उपमहानगरपालिकाले गएको फागुन २४ गतेदेखि नै कैलाली भन्सार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट नेपाल भित्रिने नागरिकको नियमित रूपमा स्वास्थ्य परीक्षण गरिरहेको छ ।