सुरक्षा गार्ड र झण्डावाल गाडी बिनै मन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्केपछि.........

सुरक्षा गार्ड र झण्डावाल गाडी बिनै मन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्केपछि.........

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको छड्के अनुगमन गर्नुभएको छ । ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासोपछि मन्त्री भट्ट बुधबार सुरक्षा गार्ड र झण्डावाल गाडी बिना नै बजारको छड्के अनुगमनमा जानुभएको हो ।

मन्त्री भट्ट स्वकीय सचिवले चलाएको से १ त ८४३ नम्बरको प्राइभेट कारमा चढेर ललितपुर र काठमाण्डौका झण्डै दुई दर्जन पेट्रोल पम्प, ग्यास डिलर र बिक्रेता कहाँ पुग्नुभएको थियो ।

पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वर लगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्दा सबै ठाउँमा सामान्य हिसाबले पेट्रोल डिजलको आयात भइरहेको पाइएको थियो ।

नाकाबन्दीमा जस्तै बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोल/डिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री लेखराज भट्टले जानकारी दिनुभयो । 

मन्त्री भट्टले कालिमाटी तरकारी तथा फलफुल बजारको पनि अनुगमन गर्नुभएको छ । तरकारी बजारमा लसुन र स्याउको भाउ केही महँगो भएको देखिए पनि अरु बजार सामान्य रहेको पाइएको छ । कोरोनाको प्रभावले गर्दा तरकारी तथा फलफुलको आयात सामान्य रहेको कालिमाटी तरकारी बजारका कर्मचारीले मन्त्री भट्टलाई जानकारी गराएका थिए ।