मोबाइल - सामाजिक सञ्जाल

मोबाइल - सामाजिक सञ्जाल

मोबाइल र सामाजिक सञ्जालका बारेमा विभिन्न टिकाटिप्पणी सुनिन थालेका छन्। मैले पनि यसका विभिन्न घटनाहरू भोगेको छु। यसै सन्दर्भमा केहि दिन अघि रमाइलो घटना भयो। त्यसैलाई आधार बनाएर मैले मोबाइल र सामाजिक सञ्जाललाई विभिन्न कोण बाट हेरेर विश्लेषण गर्ने कोसिस गरेको छु।

सुरु गरौं त्यही सानो तर रमाइलो घटना बाट यो लेख। ढोका बाट भित्र छिर्नै लाग्दा अफिसमा चार जनालाई देखें, दुई विद्यार्थी र दुई मेरा साथीहरु ! यी चारै जनाको बीच बाट भित्र पसेर आफ्नो कुर्चिमा बसेर सबैलाई पालै- पालो हेरे। करिब दुई/तीन मिनेट सम्म हेरेको हेरै रहे। एक जना विद्यार्थी मेरो मुखमा हेरेर मुसुमुसु हास्दै थिए।

मैले उनलाई चुप लाग्न इसारा गरे। उनीहरू मोबाइलमा व्यस्त थिए। अनि मैले बिस्तारै आवाज निकाले । बल्ल एक जनाले थाहा पाएछ। ओहो दाई! के छ भन्दै नमस्कार गर्यो। त्यसको केही क्षण पछि अर्का साथीले पनि हात मिलाउन हात म तिर बढाए, अर्को एक जनाले अचम्मित हुँदै "ओहो ! रोहित जी, कति बेला आउनु भयो!" भन्दै प्रश्न गर्नु भयो।

उनीहरू मोबाइलको ध्यानमा यति डुबेका थिए कि मैले आउँदा पनि थाहा पाएनन्। दुई/चार मिनेट त्यहाँ बसेर उनीहरूलाई मज्जाले हेर्दा पनि थाहा पाएनन्। कोही फेस बुक, कोही गेम त कोही भिडियो हेर्दैमा व्यस्त थिए। म संग हालै घटेको यो एउटा प्रतिनिधिमुलक घटना मात्रै हो।

अचेल मोबाइलको प्रभाव यति बढेको छ कि कुनै बैठकमा बस्यो भने कसैको फोन आउँछ, "एक छिन है" भन्दै सुटुक्क बाहिर निस्कन्छ अनि सबैको ध्यान भंग हुन्छ। कोही मोबाइलमा अर्कै थोकमा व्यस्त हुन्छन्। कुनै सभा - समारोहमा पनि "कृपया ध्यान दिएर सुनिदिनुस" भनेर आग्रह गर्दा पनि सुनेको नसुने जस्तो गरेर फेरि मोबाइलमा व्यस्त हुन्छ।

कहिलेकँही साथीहरूलाई भेट्यो, त्यहाँ पनि यस्तै - यस्तै क्रियाकलाप दोहोरिन्छ। हालखबर सोध्नु र केही रमाइला गफ गर्नुको साटो खल्ती बाट मोबाइल झिक्दै "यी देखिस आज फेस बुकमा यस्तो छ नि!" भन्दै कुनै नेतालाई व्याङ गरेको तस्बीर, कमेडी, ट्रोल, आलोचना गरिएको स्टाटस आदि - आदि देखाउँछन्।

यात्रा गर्दा दुई/तीन जना साथीहरु सँगै बस्यौ भने यस्तो लाग्छ, हाम्रो भेट कहिल्यै भएको थिएन। हामी बिच चिनजान वा कुनै घनिष्ठता थिएन र छैन। हाम्रो मोबाइल व्यस्तताले गर्दा यस्तो भएको हो । सायद कतिपय अवस्थामा म पनि यस्तै गर्छु होला। यो त उमेरले अलिक मोबाइल चलाउन सक्ने अवस्थाका मान्छेहरूको कुरा भयो। अचेल दुई/तीन वर्षका बच्चाहरूको पनि हालत उस्तै छ।

म घर गएको बेला भर्खर दुई काटेकी मेरी भान्जीको हात सिधै खल्तीमा जान्छ। मोबाइल समात्यो र स्क्रिनमा थिच्न सुरु हुन्छिन्। केही आओस् या नआओस्, त्यो संग कुनै सरोकार हुँदैन तर मोबाइल हातमा समाएर खटपट गर्न पाउनु पर्यो। नत्र रुन सुरु भइहाल्ने। अस्ति भर्खर म घर गएको बेला साझ खाना खाएर सुत्नै लाग्दा सानी भान्जीले अचम्म लाग्ने वाक्य प्रयोग गरिन।

धेरैलाई विश्वास नलाग्न सक्छ। आफ्नो माम्मिलाई "मम्मी हजुर टिभि हेर्न गैस्यो" भनिन्। उनकी मम्मीले किन भनेर सोध्दा "म फेस बुक चलाउँछु" भनेर सरल उत्तर दिइन्। दिदी र म त पेट मिची मिची मज्जाले हास्यौ। यद्दपि यो हास्ने र रमाइलो गर्ने विषय थिएन, होइन पनि। यो हास्ने र रमाइलो गर्ने विषय किन होइन भनेर एकै छिन पछि कुरा गरौला।

त्यस अघि यस्तै अरु प्रसङ्ग तिर जाऊ फेरि। अचेल यस्ता घटना मात्रै होइन मोबाइल/फेस बुक बाटै माया/प्रेम पर्न थालेको पनि सुनिन्छ। यो सम्बन्धी हामीले धेरै समाचार पढी सक्यौ। मैले चिनेका कतिपय साथीहरुको पनि यस्तो भएको छ। यसले धेरै प्रेमी युवायुवतीलाई फाइदा भन्दा घाटा नै बढी भएको मैले थाहा पाएको छु।

एक अर्कालाई नचिनेर साथी बन्छन्, कुराकानी हुन्छ, भेट्घाट अनि प्रेम सम्बन्ध पनि सुरु हुन्छ। एक अर्कालाई नबुझेरै बिहे पनि गर्छन्। एक अर्काको वास्तविकता बुझ्दा सम्म, एक अर्काको पृष्ठभूमि र पारिवारिक रहनसहन अनि संस्कृति बुझ्दा सम्म त्यो जोडीको मन फाटी सकेको हुन्छ। अनि एक अर्कालाई साथ दिने भन्दा पनि दुवै जना एक अर्काको बोझ भइसकेका हुन्छन्।

यो सबैको हकमा लागू हुँदैन तर जो यसरी सम्बन्धमा जोडिन्छन्, अक्सर तिनीहरूको यस्तो भएको पाइएको छ। यसले गर्दा डिभोर्सका घटनाहरू पनि बढिरहेका छन्। सामाजिक सञ्जाल बाटै जोडिएर प्रत्यक्ष भेट्दा कतिपय एसिड आक्रमणको पनि सिकार हुने गरेका यदाकदा सुनिन्छन्। मोबाइल फोनको गलत प्रयोगले यति मात्रै होइन अन्य धेरै नोक्सान पनि भइरहेको विज्ञहरुले बताइरहेका छन्।

जस्तै कि मोबाइलको अत्याधिक प्रयोगले अनिद्रा, डिप्रेशन, दैनिक क्रियाकलापमा असर, आत्माहत्या लगायतका खतरनाक समस्याहरू पैदा गर्छ। मोबाइलको अव्यवस्थित प्रयोग रहिरहेमा अबको 20 वर्षमा हरेक घरमा एक जना पागल हुने पनि विभिन्न अनुसन्धानहरूले बताएका छन्। गर्वपती महिलाले मोबाइल प्रयोग गर्दा त्यसको नकारात्मक असर गर्वमा रहेको बच्चालाई पनि पर्ने गर्छ भनेर विज्ञहरुले बताइरहेका छन्।

बच्चाहरूले मोबाइल प्रयोग गर्दा त्यसको असर सिधै मस्तिष्कमा पर्ने पनि बताइएको छ। अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

त्यसो भए अहिलेको युवा पुस्ता माझ लोकप्रिय र अतिआवश्यक भएको मोबाइल/फेस बुक वा अन्य सञ्जालहरू जन्जाल खडा गर्ने तत्वहरू मात्रै हुन त? यो चाहिँ होइन। मैले माथि यसका गलत प्रयोगका केही सामान्य उदाहरणहरू दिए।

अब यसका सबल पक्षहरू पनि विचार गरौं। म राजनीतिक दलमा आबद्ध हुनु भन्दा अगाडि सामाजिक गतिविधिमा सक्रिय हुने गर्थे। हामी कार्यक्रममा थुप्रै व्यक्तिहरूलाई बोलाउने गर्थ्यौं। उनीहरू हाम्रा कार्यक्रममा सहभागी भएर सामाजिक सञ्जालमा पोष्ट गर्थे। त्यसले धेरैलाई एकै पटक हाम्रो कामको सूचना पुग्ने गर्दथ्यो।

यसले मैले नचिने कतिपय व्यक्तिहरूले पछि हाम्रो कुनै सन्दर्भमा परिचय हुँदा, "ए! म तपाईंको काम हेरिरहेको हुन्छु, राम्रो गर्दै हुनुहुन्छ, अझै यस्तै कार्यमा सक्रिय भइरहनु होस्" भनेर प्रशंसा गर्थे, कतिपय हामीलाई प्रत्यक्ष सहयोग पनि गर्थे। मैले फेस बुक बाटै परिचय गरेर कतिपय संग काम पनि गर्ने मौका पाएको छु। हाम्रो सम्बन्ध अहिले पनि उत्तिकै मजबुद छ/रहिरहनेछ।

फेसबुक बाटै अभियान थालेर देशकै कान्छा अभियान्ता मेरा मित्र के पी खनाल जी ले सरसफाइ कार्यक्रम गरेर, फेस बुक लाईभ गरेर सरसफाइ सम्बन्धी धेरै युवाहरुलाई प्रेरणा दिइरहनु भएको छ। फेस बुक बाटै आग्रह गरेर वहाले बाजुरामा 45-50 लाख पर्ने अनाथ आश्रम समेत बनाइ सक्नु भएको छ। यति भन्दै गर्दा सामाजिक सञ्जाल बाट मात्रै वहाले सबै काम गर्नु भयो भन्ने त होइन।

मिहेनत पनि उत्तिकै गर्नुभएको छ तर धेरैले सामाजिक सञ्जालका माध्यम बाट नै जोडिएर, धेरैलाई आग्रह गरेर त्यति धेरै रकम उठाउन सफल हुनुभएको चाहिँ पक्कै हो। यसै गरी लम्किका मित्र जनक सुनार जी ले सामाजिक सञ्जालकै सही सदुपयोग गरेर कमैया बस्तीमा 12-15 लाख पर्ने नमूना अध्यायन गृह निर्माण गर्न सफल हुनु भएको छ।

सबै काम फेस बुक बाट नै नहुन सक्छ तर आफ्नो कामको अरूलाई जानकारी दिने, सूचना प्रवाह गर्ने सबै भन्दा सजिलो, सस्तो र शसक्त माध्यम चाहिँ बन्न सक्छ, बनेको छ। यति मात्रै होइन सामाजिक सञ्जालले अरु धेरै गलत काम रोक्न पनि उत्तिकै भूमिका खेलेको छ। जस्तै कि अघिल्लो वर्ष नेकापाका नेता वामदेव गौतम एक पटक निर्वाचित संसदलाई राजिनमा गर्न लगाएर आफू चुनावमा लड्न खोज्दै थिए तर सामाजिक सञ्जालमा व्यापक विरोध भएर पछि हट्न बाध्य भएका थिए।

सरकारले गरेका अन्य कतिपय गलत कार्यको पनि सामाजिक सञ्जाल बाटै विरोध भएर गलत काम रोक्न कतिपय नेता/व्यापारी/प्रशासक बाध्य हुने गर्छन्। यसै गरी विभिन्न संघसंस्था, सरकारी निकाय, अभियान्ता, नायकनायिका, नेताहरुले आफूले गरिरहेका गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण गर्छन्।

त्यसको जानकारी धेरैलाई एकै पटक पुग्छ र चिनिएका/नचिनिएका धेरै इच्छुक व्यक्ति राम्रा कार्यहरूमा सहभागी हुन्छन। धेरैलाई विभिन्न कार्यालयले गर्ने गतिविधि थाहा हुँदैन तर सामाजिक सञ्जालमा सूचना राखेर थाहा पाउन सकिन्छ। विश्वमा अहिले भर्खरै के भयो वा अहिले के भइरहेको छ भनेर यस्तै सञ्जाल बाट जानकारी प्राप्त हुन्छ।

खासमा मोबाइल/सामाजिक सञ्जाल सूचना र ज्ञानको भण्डार हो। हामीले त्यसलाई ध्यान नदिएको मात्रै हो। जसले यसको सही सदुपयोग गरेका छन्, आफू र आफ्नो ठाउँ पनि परिवर्तन गरिरहेका छन्। जसले गलत प्रयोग गरेका छन्, उनीहरूको जीवनमा नकारात्मक घटना पनि उत्तिकै पाइएका छन।

प्रविधिले जति सेवा/सुविधा दिएको छ, जीवनलाई जति सरल/सहज बनाएको छ, सूचना/सञ्चार जगतमा जति क्रान्ति भएको छ, त्यसको कहीं न कहीं कुनै न कुनै रुपमा गलत प्रयोग पनि भइरहेको छ। त्यसको गलत परिणाम पनि निस्कन थालेको छ भन्ने कुरा आम रुपमा सुनिन थालेको छ।

यद्दपि यसलाई कसरी सही सदुपयोग गर्ने वा यसको गलत परिणाम बाट कसरी बाँच्ने भन्ने बारेमा शिक्षा भने कमै दिने गरिएको छ। केही अघिल्लो पुस्ताका व्यक्तिहरूले त अहिलेको प्रविधिले युवा पुस्तालाई बिगार्यो भन्ने सम्मका टिप्पणी समेत सुन्न पाइन्छन।

यसमा आंशिक मात्रै सत्यता छ। यो पूर्ण सत्य भने होइन। मोबाइल प्रयोग गर्ने हो। 21 औं शताब्दीको अनुपम आविष्कार हो, मोबाइल। अब हामी/हाम्रो जीवन मोबाइल बिना अपूर्ण छ। प्रयोग कति गर्ने कसरी गर्ने भन्ने बारेमा सार्वजनिक बहस र शिक्षा जरुरी भइसकेको छ।

मोबाइलको सही सदुपयोग बारेमा कुनै ठूलो अभियान वा शिक्षा भए पछि मात्रै हामी केही गरौंला/सोचौंला भनेर पर्खिनु पनि अनावश्यक धैर्यता हुन जान्छ। हामी सबै जान्ने बुझ्ने छौं, स्वविवेक प्रयोग गरेर यसलाई हाम्रो दैनिक जीवनमा , समाजका गतिविधिमा र समाज परिवर्तनमा उपयोग गर्न सक्छौ/गर्नुपर्छ। नत्र यो आविष्कार आविष्कारको लागि मात्रै हुन्छ।

मोबाइलको गलत प्रयोग अत्याधिक बढेमा बिस्तारै यसको औचित्य माथि पनि प्रश्न चिन्ह उठ्न सक्छ। अब हामी त्यता तिरको बहसमा मोडिनु भन्दा अगावै यसलाई अत्याधिक सदुपयोग गरौ। मैले यो आलेखमा जटिल शब्दावली र ठूला ठूला तथ्यहरु राखेको छैन।

मोबाइल हाम्रो दैनिक जीवनमा अत्यावश्यक हो। यदि यो आलेखमा मैले त्यस्ता ठूला ठूला वैज्ञानिक तथ्य/प्रमाणहरू पेश गरेमा फेरि कुरै ठूला हुने। लेखले व्यावहारिक र हाम्रो जीवनलाई नछुने वा हामी यो लेखका हरेक शब्दहरू संग कनेक्ट नहुने सम्भावना रहन सक्छ।

त्यस्तो नहोस् भनेर मैले हाम्रो दैनिक जीवनमा भइरहेका र मैले सुनेका, देखेका घटनाहरूको माध्यम बाट नै मोबाइलको प्रयोग सही की गलत भनेर यसका सकारात्मक र नकारात्मक दुवै पक्ष केलाउने कोसिस गरे। बाकी टिप्पणी गर्ने जिम्मेवारी पाठक वर्गलाई नै सुम्पिने निर्णयमा पुगे। यहाका सबै विचारहरुलाई म उत्तिकै सम्मान गर्नेछु।