महेन्द्रनगर : कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट करिव ५ किलो मिटरको दुरी । घर अगाढी नै पक्की बाटो । त्यही बाटाको छेउमै सानो घर त्यो घर भन्दा अरु घरमा, गाउमा दशैको चहल पहल बाक्लै छ । घर परिवारमा खुसीयाली र हासो । कुनै घरमा घर बाहिर रहेकाहरु फर्किरहेका, कोही घर आउनेलाई फर्किदै ।
तर, सोही ठाउमा रहेको बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घर सुनसान र परिवार निराश छ ।
सवैलाई दशै लागेको छ । तर, निर्मलाको परिवारलाई दशा । दशै के मनाउनु कहिले त भान्सामा आगो पनि बल्र्दैन ।
परिवारमा न दशैको रौनक न तिहारको पर्खाई । मात्रै प्रतिक्षा, न्यायको छ । उक्त परिवार छोरीको न्यायमा भैतारिरहेको छ ।
‘के दशै मनाउनु, के तिहार’ निर्मलाकी आमा दुर्गादेवी पन्तले दुखेसो पोखिन्, ‘छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारवाही भएको देख्न पाए त्यही दशै, तिहार जस्तो लाग्ने थियो । सवैभन्दा खुसी त्यहीमा हुने थियौ।’
गर्त वर्षहरुमा निर्मलाको परिवारले पनि धुमधामका साथ दशै तिहार मनाउथ्यो । निर्मला लगायत उनकी दिदी मनिषा, बहिनी, दशै र तिहार मनाउन मामाघर धनगढी र डडेल्धुराको पिल्कोट जान्थे ।
दशै र तिहार मनाउन कान्छि श्रीमतीसग कञ्चनपुरको भासिमा बस्दै आएका बुबाकहाँ जान्थे । त्यहा कान्छो भाई छ । त्यहा गएर बुबाबाट दशैको जमरा र भाइलाई तिहारमा टिका लगाउने ।
‘यसपाली दशै आउदा झन् मन राईरहेका छ । विगतका दिन सम्झेर ।’ कक्षा १० मा अध्ययनरत निर्मलाकी दिदी मनिषाले भनिन् ।
उनले विगत सम्झिदै भनिन्, ‘बहिनी (निर्मला) सगै सगै पढेको, खेलेको, हासेको, बोलेको, कहिलेकाही झगडा गरेको याद आईरहन्छ । दशै तिहार आएपछि झन उसको याद आईरहेको छ ।’
निर्मला दशै तिहार मनाउन मामाघर गएका बेला सवैसँग मिल्ने, सवैलाई माया गर्ने, सवैसँग बोल्ने, खेल्ने, हास्ने गर्थिन । त्यसैले होला सवै निर्मलालाई असाध्यै माया गर्ने ।
‘यसपटक पनि दशैमा निर्मलाकी दिदी र कान्छि बहिनीलाई पठाईदिनु भनेर मामाघरबाट भनेका छन ।’ निर्मलाकी आमाले भनिन्, ‘यस्तो पिडाको अवस्थामा कसरी पठाउनु र जानु ।’
प्रधानमन्त्रीले ढाटे
कञ्चनपुरका आन्दोलन चर्कापनि छोरीको हत्यारा पत्ता नलागेपछि निर्मलाका बुबाआमा अधिकारर्मीसँग काठमाण्डौ समेत गएका थिए ।
प्रधानमन्त्रीले निर्मला पनि आफ्नै छोरी जस्तै रहेको भन्दै चाडो पक्राउ गर्ने बताएपछि उनीहरु महेन्द्रनगर फर्किएका थिए ।
तर, महेन्द्रनगर फर्किएको एक महिना वितेपनि हत्यारा नजिक पुग्न सकेको छैन प्रहरी ।
‘विभिन्न समिति गठन भए । प्रहरीका टोली अनुसन्धानका लागि खटाईए।’
निर्मलाका बुबा यज्ञराजले प्रश्न गरे, ‘खै ? अनुसन्धान गरिराछौ मात्रै भनिराछन । हत्यारा पत्ता लाग्छ भन्ने आश मरिसक्यो ।’
न्याय नपाउदासम्म राहत नलिने
निर्मलाका परिवार र निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाका परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भिमदत्त नगरपालिकाले ३ लाख रुपैया राहत दिने घोषणा गरेको थियो ।
आन्दोलनका क्रममा मृत्यु भएका खुन्नाका परिवारले भने सरकारले दिने राहत रकम बुझिसकेका छन ।
आन्दोलनका क्रममा मृत्यु भएका खुन्नाका परिवारले राहत बुझेपछि निर्मलाका परिवारलाई पनि राहत रकम बुझ्न भनिएको थियो ।
तर, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवारले न्याय नपाउदासम्म राहत रकम नलिने बताएका छन । हत्या गरिएको ढाई महिनासम्म पनि छोरीको बलात्कारपछि हत्या गर्ने अपराधि पत्ता लाग्न नसेकपछि निशास बनेको परिवारले राहत नलिने जनाएको छ ।
‘छोरीका हत्यारा पत्ता नलागेसम्म सरकारले दिने राहत रकम बुझ्दैनौ ।’ निर्मलाकी आमा दुर्गादेवी पन्तले आग्रह गरिन्, ‘राहत रकम दिनुभन्दा पहिला न्याय देउ ।’
‘मेरी छोरीलाई जस्तो कसैकी छोरीलाई नहोस्’
गरिव परिवार । छोरीले पढेर केही गर्लिन कि भन्ने आश । त्यसैमा सवैभन्दा राम्रो पढेन निर्मला । कुनैदिन त छोरीहरुले अवश्य केही राम्रो गर्छन भन्ने आश थियो ।
तर, छोरीको बलात्कारपछि निर्मम तरिकारले हत्या भएकोमा परिवार निकै दुखि छ ।
कोही केटा आएर जिस्क्याउन थाल्यो भने उसलाई सम्झाएर पठाउथिन निर्मला । उनै निर्मलामाथि बलात्कारपछि हत्या जस्तो जघन्य अपराध भयो ।
जसका कारण महिलाले असुरक्षित महसुस गरिरहेका छन ।
निर्मलाका बुबाआमा दशै तिहारको सवैलाई शुधकामना दिदै भन्छन, ‘मेरी छोरीमाथि जे भयो भयो । अव मेरी छोरीका जस्तो कसैलाई नहोस्. । महिला सुरक्षित भएको देख्न पाईयोस ।