आईपीएल दुई साता पछि सर्‍यो, उद्घाटन अप्रिल १५ मा हुने

आईपीएल दुई साता पछि सर्‍यो, उद्घाटन अप्रिल १५ मा हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण आईपीएल तोकिएकै समयमा गर्ने वा पछि सार्ने भन्नेबारे बहस चलिरहेका बेला १६ दिन पछि सरेको हो ।

यसअघि आईपीएल मार्च २९ बाट शुरु हुने तय थियो । तर अब उद्घाटन खेल अप्रिल १५ मा हुनेछ ।भारतीय सरकारको सुझावअनुसार बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आईपीएको उच्च व्यवस्थापनसंग छलफल गरेपछि लिग सार्ने निर्णय गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।

यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आईपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्नेछन् । आईपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आईपीएल खेल्ने सम्भावना बढेको छ । १३ औं संस्करणको आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।