कोरोनाको संक्रमण रोक्न यस्तो छ सुदूरपश्चिमकाे तयारी

कोरोनाको संक्रमण रोक्न यस्तो छ सुदूरपश्चिमकाे तयारी

धनगढी । कोभिड–१९ को संक्रमणबाट जोगिन धनगढीमा केही सतर्कता अपनाइएको देखिए पनि प्रदेशका अस्पतालहरूमा गरिएको तयारी पर्याप्त नदेखिएको हो ।

सुदूरपश्चिम प्रदेशका १० वटा नाकामै हेल्थ डेस्क राखिएका छन्। बढी आवागमन हुने दार्चुला नाकामा ६ जना, बैतडी नाकामा दुईजना, कञ्चनपुरको गड्डाचौकी नाकामा चारजनाको स्वास्थ्यकर्मी टोली खटाइएको छ।

अरू नाकामा २-२ जना गरि स्वास्थ्यकर्मी परिचालन भएका छन्। तर यसले कोरोनाको संक्रमण भित्रिन नदिन तर्फ सरकारको ध्यान गएको देखिएपनि आन्तरिक रुपमा भने धनगढी बाहेकका ठाउँहरुमा संरचनात्मक एवं जनशक्तीको अभाव देखिन्छ । 

तरपनि प्रदेशका विभिन्न ठाउँहरुमा नियमितरूपमा १०० डिग्रीभन्दा माथि ज्वरो लागेका व्यक्तिको रेकर्ड राख्ने काम भइरहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की बताउँनुहुन्छ ।

उहाँका अनुसार प्रदेशका हरेक अस्पतालमा २,३ वटा बेड तयारी अवस्थामा छन तर आपूर्ति व्यवस्थापनमा समस्या छ, बजारमा पीपीई, इन्फ्रारेड थर्मामिटर र मास्कको अभाव छ।

स्वास्थ्य महाशाखा प्रमुख कार्कीका अनुसार सेती अस्पताल, मायाँ मेट्रो अस्पताल र निसर्ग अस्पतालमा आईसीयूको व्यवस्था गरिएको छ। क्वारेन्टाइनका लागि हरेक जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरिएको छ र आवश्यक भए परिचालन गरिने उहाँको भनाई छ।

हेल्थ डेस्कमा परीक्षण गर्ने क्रममा भाइरसको संक्रमणबाट कसरी जोगिनेबारे जनचेतना फैलाउने काम गरिँदैछ।