महिला टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन्। मेलबर्नमा हुने फाइनलमा भारत पहिलो पटक उपाधि होडमा पुगेको हो। ११ वर्षमा पहिलो पटक फाइनलमा पुगेकाले भारत अस्ट्रेलियालाई पराजित गर्दे उपाधि जित्ने ध्याउनमा रहेको छ।
अस्ट्रेलिया भने सर्वाधिक चार पटकको च्याम्पियन टिम हो। पछिल्लो पटक अस्ट्रेलियाले २०१८ मा विश्वकप उपाधि उचालेको थियो। अर्थात डिफेन्डीङ च्याम्पियन अस्ट्रेलिया उपाधि रक्षा गर्ने ध्याउनमा रहेको छ। भारतले अहिलेसम्म ६ पटक प्रतियोगिता खेलेपनि टी–२० महिला विश्वकपको उपाधि जित्न सकेको छैन्। सातौं पटकमा भने भारतले फाइनलमा स्थान बनाउन सफल भयो।
भारतको अहिलेसम्मको सर्वाधिक उच्च प्रदर्शन भनेकै तीन पटक सेमिफाइनल पुग्नु हो। अघिल्लो संस्करणमा भारत सेमिफाइनलमा पुगेको थियो। जहाँ इंग्ल्यानडसँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो। महिला विश्वकपमा नै सर्वाधिक सफल अस्ट्रेलियाले यो सँगै ६ संस्करणमा फाइनलमा स्थान बनाएको छ। जसमा ४ पटक उपाधि जितेको छ।
२००९ को पहिलो संस्करणमा मात्रै अस्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको थियो। त्यसयता भने लगातार फाइनलमा स्थान बनाउन अस्ट्रेलिया सफल भएको छ। यद्यपी भारत भने ११ वर्षे इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको हो। महिला विश्वकपमा इंग्ल्यान्ड र वेस्टइंडिजले समान एक–एक पटक उपाधि जितेका छन्।