राप्रपा र राप्रपा (संयुक्त)बीच एकता

राप्रपा र राप्रपा (संयुक्त)बीच एकता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता भएको छ। लामो छलफल र संवादपछि राप्रपा र राप्रपा (संयुक्त)बीच एकता गर्ने सहमति भएको हो। एकीकरणसम्बन्धी आधारपत्रमा कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले शनिबार बेलुकी हस्ताक्षर गरेका छन्। घोषणासभा फागुन २८ लाई तय गरिएको छ।

सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त)का अध्यक्षद्वय राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन्। केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गरिनेछ।

संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ। त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्ने सहमति भएको छ।

दुवै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ। एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका संझौतालाई मान्यता दिइनेछ।

विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीनजना अध्यक्षको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ। हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ।