सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण

सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे  शल्यक्रिया कक्षमा लगिएको हो। चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने  बताएका छन्। मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन् ।

त्रिवि अस्पताल स्रोतका अनुसार २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् । ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी  भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए।  

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्।