थाइल्याण्डविरूद्ध नेपालको कीर्तिमानी जित

थाइल्याण्डविरूद्ध नेपालको कीर्तिमानी जित

एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ। बुधबार भएको खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो। ६७ रनको सामान्य लक्ष्य नेपालले १ विकेटको क्षतिमा ५.३ ओभरमा ७२ रन बनाउँदै पूरा गर्यो। यो नेपालले टी-२० क्रिकेटमा सबैभन्दा कम बलमा हात पारेको जित हो। 

नेपालका लागि कुशल मल्लले ३६ रन र पवन सराफले अविजित २७ रन जोडे। ओपनिङमा आएका पारसले ९ रन बनाए। पहिले ब्याटिङ गरेको थाइल्याण्डले जम्मा ६६ रन बनायो। नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। अविनाश बोहराले २ विकेट हात पार्दा सन्दीप लामिछाने र भुवन कार्कीले समान एक-एक विकेट हात पारे। 

यसअघि भएको दुबै खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो। प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन्।