खप्तड गोल्डकपः पहिलो पटक आयोजक सुप–११ स्पोर्टस क्लब फाईनलमा

खप्तड गोल्डकपः पहिलो पटक आयोजक सुप–११ स्पोर्टस क्लब फाईनलमा

धनगढी : आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब पहिलो पटक नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ । धनगढी रंगशालामा शनिवार भएको पहिलो सेमिफाईनलमा विभागीय टीम नेपाल एपिएफ क्लबलाई हराउँदै पहिलो पटक प्रतियोगिताको फाईनलमा पुगेको हो । 

धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो । सुदुरपश्चिम–११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो । घरेलु समर्थकको साथ पाएको सुदुरपश्चिमले एपीएफ विरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो । विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।  खेलको ११ औं मिनेटमा विक्रमले व्यक्तीगत दोस्रो गोल गर्दै सुदुरपश्चिमलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको २४ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए । डिबक्सको अगाडी प्राप्त बललाई आशिषले दुई डिफेन्डर र आयोजकका गोलरक्षक सुजित विसीलाई बिट गर्दै गोल गरे । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल सुदुरपश्चिमले २–१ ले आफ्नो बनायो ।

यससँगै सुदुरपश्चिमले पहिलो पटक प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ । प्रतियोगिताको दोस्रो संस्करणमा भने सुदुरपश्चिम एपीएफसँग नै पराजित भएको थियो । यस पटक भने एपिएफसँग बदला लिँदै सुदुरपश्चिम फाईनल पुग्न सफल भयो । खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका विक्रम चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए । 

पहिलो पटक फाइनल पुगेपछि सुदुरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले अघिल्लो पटक हारेको ईखले खेल्दा जित निकाल्न सफल भएको बताउनुभयो । ’दुई वर्ष अगाडी हारेको याद छ । त्यसैलाई स्मरण गरेर खेल्यौं । खेल राम्रो भयो । इखले खेल्यौं । सुरुका दुई गोलले सजिलो भयो,’ उहाँले भन्नुभयो ।

एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले सुरुमै दुई गोलले पछि पर्दा पुनरागमन गर्न नसकेको बताउनुभयो  । ’सुरुमा २–० ले पछि पर्दा कम ब्याक गर्न सकेनौं । रेफ्रीको निर्णयले गर्दा हार ब्यहोर्यौ । दोस्रो हाफमा विंगरले खेल्न सकेनन्,’ उहाँले भन्नुभयो । अब, उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । आईतबार प्रतियोगिताको दोस्रो सेमि फाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । 

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ । 

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ ।

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको  छ ।

सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।