कञ्चनपुरमा मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरमा मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ साकेतधाम विष्णु मन्दिरको खुड्किला निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता गरेको छ । मन्दिर निर्माणको क्रममा खुड्किलो बनाउँदा साढे चार लाख भ्रष्टाचार गरेको आरोपमा समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

मन्दिरमा खुड्किला निर्माणका लागि पेस्की लिएर पनि फछ्र्याेट नगरेपछि आयोगले छानबिन गरेको थियो । मन्दिर (विष्णुधाम) मा खुड्किला निर्माण योजनाका लागि आर्थिक वर्ष २०६५÷६६ मा विष्टले नगरपालिकाबाट ४ लाख ५० हजार रुपैयाँ लिएको र उनले निर्माण कार्य नगरी आफूलाई मात्रै गैरकानूनी लाभ पु¥याउने काम गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

सरकारलाई नोक्सानी र आफूलाई गैरकानूनी लाभ लिने काम गरेको भन्दै विष्टविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिम साढे चार लाख बिगो र सोहीअनुसारको जरिमाना र कैदसमेत माग गर्दै विशेष अदालत मुद्दा दर्ता भएको छ ।

त्यस्तै, अख्तियारले कञ्चनपुरकै सरस्वती माध्यमिक विद्यालयका शिक्षक इन्द्रसिंह थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले अवैध शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएका थिए । थापाले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश वाराणसीअन्तर्गतको ड्रमन्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तीर्ण गरेको भन्दै झुटो शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोग छ ।