मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट

मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट

दार्चुला : दार्चुलाको लटीनाथ गाउँपालिकामा विद्यार्थीमाथि कुटपिट भएको छ । राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन बुधबार साँझ प्रतियोगिता जितेका लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थीमाथि आक्रमण भएको हो ।

स्थानीयका अनुसार गाउँपालिकाको वडा नम्बर २ का केही व्यक्तिले मादकपदार्थ सेवन गरी विद्यार्थीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थी पावेल महरा, प्रकाश बिष्ट र दिनेश महरा घाइते भएका छन्। अन्य केही विद्यार्थीलाई सामान्य चोट लागेको छ ।

विद्यार्थीमाथि आक्रमण गर्ने खगेन्द्र ठगुन्ना, विनोद धामी, राजेन्द्र धामी तथा दिलीपसिंह धामीसहितलाई इलाका प्रहरी कार्यालय लटीनाथले पक्राउ गरेको छ ।

‘शिल्ड जितेर लटीनाथको दाजुभाई होटलमा खाजा खाइरहेका विद्यार्थीमाथि कुटपिट भएको रहेछ, कुटपिट गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं, उनीहरुलाई कसुर अनुसारको कारबाही हुन्छ,’ इलाका प्रहरी कार्यालय लटीनाथका इन्चार्ज कमल विष्टले भने ।

कुटपिटमा संलग्नचार जनालाई नियन्त्रणमा लिइसकेको र अन्यको खोजीभइरहेको उनले बताए । ‘कुटपिटमा संलग्न भएकाहरुले जाँड रक्सी सेवन गरेको देखिएको छ,’ विष्टले भने ।