पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै

पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै

काठमाडौँ : नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्‍ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले 'हाम्रो नेपाल हामी नेपाली' अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए । 

कान्तिपुरसँग कुरा गर्दै खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए। सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए।


२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन्। अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्।

पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ। यद्यपि पहिलो घोषणा सभामा भने पूर्वडीआईजी खरेल र पूर्वसचिव सिटौला रहनेछन्।