पत्नीको कमाइमा निर्भर हुनुपर्दा पुरुषहरु सबैभन्दा दुःखी हुन्छन् !

पत्नीको कमाइमा निर्भर हुनुपर्दा पुरुषहरु सबैभन्दा दुःखी हुन्छन् !

एक हालैको वैज्ञानिक अध्ययनले पुरुषहरु कुन समयमा खुसी हुन्छन् र के कुराले उनीहरुलाई सबैभन्दा बढी दुःखी बनाउन सक्छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको छ । १४ वर्षसम्म अमेरिकाका ६ हजार परिवारमा गरिएको यस अध्ययनले दुःखपूर्ण भावनालाई चिन्ता, पीडा, निराशावादी, अस्तित्वहिन लगायतका नकारात्मक भावनाका आधारमा मापन गरेको हो ।

यसबीच पुरुषहरु आफ्नो पत्नीको कमाइमा निर्भर हुनुपर्दा सबैभन्दा बढी दुःखी र असन्तुष्ट हुने गरेको पत्ता लागेको हो । अर्कोतर्फ पत्नीले घरको ४० प्रतिशत आर्थिक भार सम्हाल्दा र बाँकी ६० प्रतिशत कमाइका लागि परिवार आफूमा निर्भर रहँदा चाहिँ सबैभन्दा खुसी हुने गरेको अनुसन्धानले देखाएको छ ।  

अध्ययनका अनुसार पुरुषहरु पूर्ण रुपमा पत्नीको कमाइमा निर्भर रहन चाँहदैनन् तर आफू एक्लैले सम्पूर्ण आर्थिक जिम्मेवारी उठाउनाले पनि उनीहरुलाई खुसी बनाउँदैन । निश्चित तथ्याङ्कमा भन्नुपर्दा पत्नीको ४० प्रतिशतसम्मको आर्थिक योगदान पुरुषहरुका लागि सबैभन्दा खुसीको क्षण हुने गरेको पाइएको हो । तर यसक्रममा पत्नीले कमाइमा आफूलाई जित्दै गएमा चाहिँ पुरुषहरुमा मानसिक तनाव बढ्दै जाने गरेको पत्ता लागेको डाक्टर जोआना सिड्राले बताए जो युनिभर्सिटी अफ बाथ्स स्कुल अफ म्यानेजमेन्टमा अर्थशास्त्री हुन् । 

यसरी १९८० को दशकमा १० प्रतिशत परिवारमा मात्र पत्नीले पतिको तुलनामा बढी आम्दानी गर्ने गरेका थिए तर अहिलेको अमेरिकी परिदृश्यमा भने तीन मध्ये एउटा घरमा महिलाले पुरुष बराबर कमाइरहेका हुन्छन् । सिड्राका अनुसार घरको मूल आर्थिक श्रोत हुनुले पुरुषहरुको मानसिकतामा कसरी असर पारिरहेको छ भन्ने पत्ता लगाउन यसअघि कुनै अनुसन्धान गरिएको थिएन ।

यस्तोमा अध्ययनको लैङ्गिक असमानताले महिलाहरुको करिअर मात्र नभएर पुरुषको मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने निष्कर्ष निकालेको छ ।