एसपी विष्टलाई कारवाहीको तयारी

एसपी विष्टलाई कारवाहीको तयारी

काठमाण्डौ : कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । 

घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो । 

यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को आदेशपछि पन्त हत्याको अनुसन्धान पूरा नभएसम्मका लागि भन्दै ९ भदौमा विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिएको थियो ।

प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ। 

प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो । प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयमा एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको विषयमा छलफल चलिरहेको छ । 

हाल एसपी विष्टका कारण प्रहरी संगठन नै बदनाम हुँदै गएको र पछिल्लो समय सोही प्रकरणलाई जोडेर आईजीपीकै राजीनामा माग्न थालिएपछि विष्टलाई बर्खास्त गर्ने मुडमा प्रहरी प्रधान कार्यालय पुगेको उच्च स्रोतको दाबी छ । 

तर, प्रहरी प्रधान कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरीको कमिकमजोरी बारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन अनुरुप कारवाही हुने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताएका छन । 

प्रहरी महानिरीक्षक खनाल एआईजी बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनको पर्खाइमा रहेको स्रोतको दाबी छ । र, पछिल्लो समय खनाल पनि एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको मुडमा पुगेको दाबी गरिन्छ । 

यद्यपि, एसपी विष्टको जागिर रहन्छ या रहँदैन भन्ने विषय बस्न्यात नेतृत्वको समितिको प्रतिवेदनमा अडिएको ती अधिकारी बताउँछन् । 

केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री निर्मला पन्त प्रकरणमा निलम्बित प्रहरी अधिकारीमाथि छानबिन भइरहेको बताउँदै कसुर प्रमाणित भए कसैलाई पनि उन्मुक्ति नदिइने बताउनुभयो ।