फारवेष्ट पशुपति कप पाँचौ संस्करणको च्याम्पीयन स्टार सिटी

फारवेष्ट पशुपति कप पाँचौ संस्करणको च्याम्पीयन स्टार सिटी

धनगढी । पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको च्याम्पीयन स्टार सिटी युवा क्लव बनेको छ ।

झण्डै नौ लाख नगद धनराशीको प्रतियोगिताको फाईनलमा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो । स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे ।

उनले पहिलो हाफको ईन्जुरी समयको एक मिनेटमा गोल गरे । विदेशी खेलाडी ओरियलको पासमा विक्रमले सुन्दर गोल गरे । प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख नगद सहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिम ११ ले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

माघ १७ गतेदखि सुरु भएको पाँचौं हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिवार सकिएको छ । पाँचौ संस्करणको विजेता वनेको स्टार सिटीले प्रतियोगिताका विभिन्न विधामा समेत कब्जा जमाएको छ । 


स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले नगद  २५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए ।

त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोशन विसी भए । उनीहरुले जनही उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजयी खेलाडीहरुलाई एक समारोहका बीच नगद सिल्ड तथा पुरस्कार वितरण गरिएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष  खेम रावतको अध्यक्षतामा भएको समापन समारोहका प्रमु अतिथि धनगढी उपमहानगरपालिका मेयर नृप ओड रहनु भएको थियो । 


प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको थियो । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको थियो ।

फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।