कमरेड, म सम्झिरहेछु त्यो दिन

कमरेड, म सम्झिरहेछु त्यो दिन

कमरेड,
म सम्झिरहेछु त्यो दिन
परिवर्तनको सङ्गिन यात्रामा
हिडिएको थियो सङ्गै
जिवनको कुनै प्रवाह नगरी
बा आमाको माया मारेर
मेरो देश म बनाउछु भन्दै
बोक्दा आँखा भरी सपना
आमाको आँखा भरी आँसु थियो
साथीहरुको आँखामा बेवास्ता
हिजो जस्तै लाग्छ आज पनि
बेप्रवाह जीवन
म सम्झिरहेछु त्यो दिन

जब तिमी र म
सुत्ने खाट एउटै हुन्थ्यो
हिड्ने बाटो र बस्ने बास उहीँ
कति भाषण त सिकाइएका हुन्थे
कति त यात्रामा छुट्टिए सधैंको लागि
सपथ सङ्गै लिएका थियौं
कफन बाँधेर शिरमा
खेर जानदिने छैनौ बलिदान भनि
लडिएको थियो
आमूल परिवर्तनका खातिर
म सम्झिरहेछु त्यो दिन

कमरेड,
परिवर्तन त भयो
तर
तिमीले खोजेको परिवर्तन
र मैले खोजेको परिवर्तन भिन्न रहेछ
आमूल परिवर्तन भयो
तिमीले बोल्ने भाषा र शैली बदलिएछ
तिम्रो बस्ने घर अनि हिड्ने बाटो बदलिएछ
साथी सङ्गती बदलिएछन
तर
भत्किएका घर उस्तै खण्डहर छन
दुरुस्त देखिन्छ्न
टाएर जलाएका टाटाहरु सडकमा
केही बदलिएको छैन कमरेड
हामीले रात बिताएका बस्तीहरु
उपहार त पाए केबल
भ्रष्टाचार घुसखोरी र अनैतिकता
दु:ख त यसमा पो छ कि
तिमी पनि उनिहरुकै औंला समातेर
बामे सर्न सिक्दै गयौ र आज दौडिने भयौ
म बिश्वास मै बसिरहे कि
मैले खोजेको परिवर्तन आउला भनेर
म सम्झिरहेछु त्यो दिन

कमरेड,
म त्यहीँ भेट्टिनेछु
प्रतीक्षारत, अबिचलित र दृढ
जहाँ बाट हामी छुट्टिएका थियौँ
तिम्रो र मेरो बाटो अलग्गिएको थियो
जिन्दगीमा फुर्सद हुँदा
सम्झिनु, जब
तिमीलाई एक्लोपनाले सताउने छ
चारै तिर अँध्यारो छाउने छ
आफ्नै सन्ततिले पनि
धिक्कर्न थालेको थाहा पाउने छौ
आसे पासे, हुक्के-बैठके र चम्चेहरुले
साथ छोड्ने छन
मलाई पुर्ण विश्वास छ कि
तिमी जरुर मलाई सम्झिने छौ
किन कि
तिमीलाई मैले राम्ररी चिनेको छु
राम्ररी बुझेको छु
तिमी मेरो नजरमा सदाबहार
कमरेड ।।।