आस्थालाई चार दिन हिरासतमा राख्‍न प्रशासनको अनुमति

आस्थालाई चार दिन हिरासतमा राख्‍न प्रशासनको अनुमति

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ । सोमबार बिहान महानगरी प्रहरी परिस काठमाडौंमा उपस्थित भएकी गायिका आस्थालाई यसअघि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो ।

प्रहरीले अनुसन्धानका मिसिलहरु सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदी जानकारी दिए । 

उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान सकिएपछि जिल्ला प्रशासन कार्यालय लगिएको थियो । जिल्ला प्रशासनले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

तर, प्रहरीले भने सबै प्रक्रिया आजै टुंग्‍याउन सक्ने स्रोतले बताएको छ । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । “हामीले हेरेको सीसीटीभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ,” प्रहरी स्रोतले भन्यो ।

विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।