सरकारी एम्बुलेन्समा साढे ३० किलो गाँजा

सरकारी एम्बुलेन्समा साढे ३० किलो गाँजा

मकवानपुरमा सरकारी एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा।२ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले शनिबार राति तीन जनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरिया–४ का १९ वर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीनवटा झोलामा ६ पोका बनाइ राखिएको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको एसपी राठौरले बताए।

प्रहरीले एम्बुलेन्सबाट नेपाली ९१ हजार र भारतीय २ हजार २ सय रुपैयाँसमेत बरामद गरेको छ। चालक महमद खलिद करारका चालक रहेको खुलेको प्रहरीले बताएको छ।

मकवानपुर प्रहरीले शनिबारै १० किलो ५ सय ६० ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको थियो। राक्सिराङ गाउँपालिका–९ का ३५ वर्षीय ज्ञानबहादुर प्रजा र ४२ वर्षीय कान्छाराम मुक्तानलाई हेटौंडा–१० स्थित बसपार्कमा ना ७ ख ६९० नम्बरको यात्रुबाहक बसमा सवार गरिरहेको अवस्थामा पक्राउ गरिएको राठौरले जानकारी दिए।

राठौरले भारतको रक्सौलबाट लागूऔषध नाइट्रोभेट खरिद गरेर हेटौंडातर्फ आउँदै गरेका हेटौंडा–१५ का २२ वर्षीय विजय डिमडुङ र २६ वर्षीय सोम थोकरलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए। उनीहरुलाई हेटौंडा–९, पशुपतिनगरबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।