सभामुख चयनका लागि प्रतिनिधि सभाकाे बैठक दिउँसाे ३ बजे बस्दै

सभामुख चयनका लागि प्रतिनिधि सभाकाे बैठक दिउँसाे ३ बजे बस्दै

प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आइतबार बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारकाे बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

आइतबारकाे बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ्ग र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नु हुनेछ ।

यौन दुर्व्यवहारकाे आराेपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएकाे झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन । 

यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा पनि आइतबार सुनुवाइ हुँदैछ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सर्वाेच्च अदालतले पेसी तोकेको हो ।

सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनु भएको छ ।