घातक कोरोना भाइरसबाट प्रभावित चीनको वुहान शहरमा ६ दिनभित्र एउटा अस्पताल बनाउने काम भइरहेको छ ।
कोरोना भाइरसबाट प्रभावितहरुको उपचारका लागि यस्तो निर्णय लिइएको हो । चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् भने ४२ जनाको ज्यान गइसकेको छ ।
एक करोड १० लाख जनसङ्ख्या रहेको वुहान शहरबाट नै कोरोना भाइरस फैलन सुरु भएको थियो । अहिलेसम्म यो भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र फ्रान्ससम्म पुगिसकेको छ ।
वुहानका अस्पतालको स्थिति अहिले चिन्ताजनक छ । अस्पतालमा बिरामीहरुको भिड लागेको छ, औषधि र पसलको स्टक समाप्त भए पनि माग बढिरहेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ६ दिनमा बन्न लागेको अस्पताल एक हजार शैय्याकाे हुनेछ । अस्पताल बनाउनका लागि २५ हजार वर्ग मिटर क्षेत्रफलको इलाकामा खन्ने काम भइरहेको छ ।
सन् २००३ मा चीनको बेइजिङ शहरमा सार्स भाइरसबाट बच्नको लागि आनन–फाननमा एउटा अस्पताल बनाइएको थियो ।
हावर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एण्ड सोसल मेडिसिन विषयमा प्राध्यापन गर्ने जोआन कफम्यानले भने, ‘यो अस्पताल कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको लागि बनाउन लागिएको हो । यो अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसहरु आउने छन् ।’
के ६ दिनभित्र अस्पताल बन्ला ?
काउन्सिल अप फरेन रिलेसन्सका ग्लोबल हेल्थ सिनियर फेलो यानजोङ्ग हुआङ्ग भन्छन्, ‘ठूलोभन्दा ठूलो परियोजना चाँडोभन्दा चाँडो सक्न चीनले रेकर्ड राख्दै आइरहेको छ ।’
सन् २००३ मा पनि सात दिनभित्र बेइजिङमा अस्पताल बनाइएको उनी सम्झिन्छन् र चीन त्यो रेकर्ड तोड्ने प्रयासमा रहेको उनी बताउँछन् ।
हुआङ्गका अनुसार यो काम समयमै सक्नका लागि पूरै देशको विभिन्न ठाउँबाट इन्जिनियरहरुलाई बोलाइएको छ ।