बाजुरामा भारतबाट फर्किएका युवक हिउँमा मृत भेटिए

बाजुरामा भारतबाट फर्किएका युवक हिउँमा मृत भेटिए

बाजुरा : बाजुरा जिल्लाको बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखेलेकको हिउँमा भारतको मुम्बईबाट काम गरी घर फर्किएका एक युवक मृत भेटिएका छन् । बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ ।

पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले जानकारी दिएका छन् । मृत शवको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली पुग्न बाँकी छ ।

ल्वार रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । उनी मुम्बईबाट घर फर्किदै गर्दा बीच बाटोमा नै मृत भेटिएका हुन् । घटना स्थलबाट ल्वारको घर मात्र १ घण्टाको दुरीमा पर्दछ । मृत्युको कारण बारे आधिकारी जानकारी प्राप्त नभएपनि चिसोका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।