विश्व क्रिकेट लिग खेल्ने नेपाली टिमकाे घाेषणा : साेमपाल र वसन्तलाई आराम, कुशल र कमलकाे 'इन्ट्री'

विश्व क्रिकेट लिग खेल्ने नेपाली टिमकाे घाेषणा : साेमपाल र वसन्तलाई आराम, कुशल र कमलकाे 'इन्ट्री'

आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । जसमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन् । यसका साथै अनुभवी खेलाडी सोमपाल कामी र वसन्त रेग्मीलाई आराम दिइएको छ भने कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो । जसमा यू–१९ टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

सोमपाल कामी स्वास्थ्य समस्याका कारण यो सिरिज बाहिर हुँदा वसन्त रेग्मी पारिवारिक कारणले क्याम्पमा सहभागी थिएनन् । पछिल्लो पटक एमएम कप खेलेका वसन्तलाई पुत्रीलाभ भएको थियो । जसका कारण उनले प्रशिक्षण गुमाएका थिए ।

टिममा परेका कमलसिंह ऐरी यू–१९ टिमका मुख्य बलर रहेका थिए । नेपालले एसिया कप खेल्दा होस् या विश्वकप छनोट हाेस् कमल मुख्य बलर थिए । यस्तै टिममा पहिलो पटक परेका कुशल मल्ल बायाँ हाते ब्याट्सम्यान तथा बलर हुन् । पछिल्लो पटक दक्षिण एसियाली खेलकुद सागमा टिममा परेका कुशल एकदिवसीयमा भने पहिलो पटक टिममा परेका हुन् ।

यस्तै सुसन भारीले पनि पहिलो पटक एकदिवसीय टिममा स्थान बनाएका हुन् । पछिल्लो पटक टी–२० टिममा रहेपनि उनी पहिलो पटक एकदिवसीय सिरिजका लागि टिममा परेका हुन् ।

नेपालको राष्ट्रिय टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी ।

रिजर्भ खेलाडी : पवन शर्राफ, सुवास खकुरेल, सन्दीप जाेरा र किशाेर महताे । 

माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ । यो प्रतियोगिताका लागि अमेरीका र ओमानले यसअघि नै टिमको घोषणा गरिसकेका छन् ।