नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ ।

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् । 

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा पत्रमा लेखेका छन् । नेपाल एअरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।