राष्ट्रिय सभा निर्वाचन : १६ सीट नेकपा र दुई सीट राजपाको पोल्टामा

राष्ट्रिय सभा निर्वाचन : १६ सीट नेकपा र दुई सीट राजपाको पोल्टामा

राष्ट्रिय सभाका १८ सदस्यकालागि बिहीबार सात प्रदेशमा भएको निर्वाचनमा नेकपाले १६ सीट जित्न सफल भएको छ । राष्ट्रिय जनता पार्टीले दुई सीट जितेको छ । प्रदेश १ र ५, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैले जित हात पारेको छ भने प्रदेश २ का चार सिटमध्ये राष्ट्रिय जनता पार्टीसँग तालमेल गरी दुई–दुई सीट बाँडेको छ । 

गत निर्वाचनमा गोरखा–२ मा पराजित नेकपाका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठ पनि गण्डकी प्रदेशबाट निर्वाचित भएका छन् । 

प्रदेश १ बाट महिलातर्फ इन्दिरा गौतम, दलिततर्फ गोपीबहादुर अछामी र अन्यतर्फ देवेन्द्र दाहाल निर्वाचित भएका छन् । प्रदेश २ बाट महिलातर्फ तुलसाकुमारी दाहाल, दलिततर्फ राधेश्याम पासवान, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ शेखरकुमार सिंह र अन्य समूहतर्फ मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् । 

प्रदेश ३ बाट महिलातर्फ गंगाकुमारी वेलवासे र अन्यतर्फ बेदुराम भुसाल विजयी भएका छन् । गण्डकी प्रदेशबाट महिलातर्फ भगवती न्यौपाने र अन्यतर्फ नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । प्रदेश ५ बाट अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा, महिलातर्फ विमला घिमिरे र अन्यतर्फ गोपाल भट्टराई विजयी भएका छन् । 

कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद आयार्य(पारशमणी) र सुमित्रा बिसी विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ शारदा भट्ट र अन्यतर्फ तारामान स्वाँर विजयी भएका छन् । 

प्रदेश दुईमा अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ निर्वाचित सिंह र अन्य समूहतर्फ यादव राजपाबाट निर्वाचित हुन् । 
राष्ट्रिय सभाका १९ सांसदको पदावधि २० फागुनमा सकिदैछ । पदाबधि सकिनेमा राष्ट्रपतिबाट मनोनित नेकपाका अर्थमन्त्री युवराज खतिवडासहित ९, कांग्रेसका ७, राजपाका दुई र समाजवादीका एक सांसद छन् । पदाबधि सकिनुभन्दा ३५ दिन अगावै सोही प्रक्रियाबाट निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १८ सदस्यकालागि निर्वाचन गरेको हो । 

पहिलो दुई वर्षे कार्यकाल पूरा हुनेमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र मुख्य सचेतक सरिता प्रसाईं समेत छन् । कांग्रेसका विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । 

यस्तै, नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानले पनि दुई वर्षे कार्यकाल गुजार्दैछन् ।