पाँचौ "हाईलेण्डर फारवेष्ट पशुपति कप" माघ १७ गतेदेखि हुने

पाँचौ "हाईलेण्डर फारवेष्ट पशुपति कप" माघ १७ गतेदेखि हुने

धनगढी । झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि आयोजना हुने भएको छ ।

आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि निर्धारण गरेको दुई पटकको मिति सार्दै अव माघ १७ गतदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । पहिलो पटक प्रतियोगिता पुस ४ गतेदेखि आयोजना हुने भनेकोमा त्यसपछि माघ १० लाई प्रतियोगिता सारिएको थियो ।

तेस्रो पटक सारिएको प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म धनगढी रंगशालामा आयोजना गर्नका लागि तयारी थालेको फारवेष्ट पशुपति युवा क्लबले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

प्राविधिक कारणले यसअघि दुई पटकको मिति सारेकोमा अवस्थामा पाँचौं संस्करणको तयारीमा तिव्रताका साथ लागिरहेको क्लबका अध्यक्ष खेम रावतले बताउनुभयो । प्रतियोगिताको ट्रफी भने यसअघि नै सार्वजनिक भईसकेको छ । 
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन ।

सवै धनराशी जोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहने क्लबका सचिव ललित मिश्रले प्रतियोगिता हेर्नका लागि विद्यार्थी सहुलियतको पचास र अन्य दर्शकलाई एक सय रुपैयाँ टिकट दर समेत तोक्ने निर्णय क्लबले गरेको मिश्रले बताउनुभयो ।

क्लबले पाँचौ संस्करणमा टिकटबाट पाँच लाख आम्दानी हुने अपेक्षा राखेको छ । 
पत्रकार सम्मेलनमै प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक, सह–प्रायोजक र टिकट प्रायोजकसँग सम्झौता समेत भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहने भएको छ । प्रतियोगिताको पाँचौं संस्करणको नाम हाईलेण्डर फारवेष्ट पशुपति कप २०७६ रहने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा आयोजक फारवेष्ट पशुपति युवा क्लबा तर्फबाट अध्यक्ष खेम रावत र हाईलेण्डर डिष्ट्रिलरी प्रालिको उत्पादन हाईलेण्डरका तर्फबाट एरिया सेल्स म्यानेजर तारा पन्तले हस्ताक्षर गर्नुभयो । पत्रकार सम्मेलनमा वोल्दै हाईलेण्डरका एरिया सेल्स म्यानेजर तारा पन्तले खेलकुद क्षेत्रसँग जोडिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व वहन गर्दै खेलकुदको विकासका लागि लगानी गर्ने योजना कम्पनीको रहेकोले सोही अनुसार फारवेष्ट पशुपति कपसँग जोडिएको बताउँदै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाउनुभयो । 
यस्तै प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेजसँग पनि सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एडभेन्चर वेष्ट होलिडेजका सिईओ दिपक बम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पत्रकार सम्मेलनमा वोल्दै एडभेन्चर वेष्ट होलिडेजका सिईओ दिपक बलमे प्रतियोगितासँग जोडिन पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो । त्यसैगरी टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयरसँग पनि पत्रकार सम्मेलनमै सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एक्सप्रेस अटो केयरका सिईओ कृष्ण बोहोरा बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि पत्रकार सम्मेलनमा वोल्दै एक्सप्रेस अटो केयरका सिईओ कृष्ण बोहोराले प्रदेश सरकारले गर्नुपर्ने काम यसक्षेत्रका पुर्व खेलाडीहरुले गरिरहँदा पनि कहीकतैबाट सहयोग नपाईरहेको स्थिति हुँदा प्रायोजक गरेको बताउनुभयो । आफु पनि खेलकुद प्रेमी भएको भन्दै वोहोराले प्रतियोगितालाई सफल पार्नका लागि सवै व्यवसायीलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । क्लबका अध्यक्ष खेम रावतले प्रायोजकको अभावमा प्रतियोगिता आयोजना गर्न निकै कठिने हुने अवस्थामा हाईलेण्डर मुख्य प्रायोजक, एडभेन्चर वेष्ट होलिडेज   सह–प्रायोजक र एक्सप्रेस अटो केयर टिकट प्रायोजकको रुपमा जोडिँदा प्रतियोगितालाई सफल पार्नका लागि मदत्त मिल्ने बताउनुभयो । उहाँले तीन वटै प्रायोजकहरुलाई धन्इवाद दिदैं आगामी दिनमा सहयोग रहने आशा व्यक्त गनुर््भयो । 
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।