भ्रष्टाचार सूचकांकमा नेपालको ३ अंक सुधार, ११ स्थान माथि उक्लियो

भ्रष्टाचार सूचकांकमा नेपालको ३ अंक सुधार, ११ स्थान माथि उक्लियो

नेपालमा भ्रष्टाचार केही घटेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकले देखाएको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल ११ स्थान माथि उक्लिएर १ सय १३औं स्थानमा पुगेको हो ।

अघिल्लो वर्ष १०० पूर्णाङ्कमा ३१ अंकसहित १२४औं स्थानमा परेको नेपालले यस वर्ष ३४ अंक प्राप्त गरेको छ । सूचकांकमा केही सुधार देखिएपनि नेपाल भ्रष्टाचार ब्याप्त मुलुकको सूचीमा भने यथावत छ ।

सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचारविरोधी निकायहरूको कारवाही, न्यायपालिकाका काम–कारवाही, कर असुलीसम्बन्धित निर्णयहरू, सुरक्षा निकाय खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंगित गरेको देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले उल्लेख गरेको छ ।

सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरूपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरूमा सुधार नभएका कारण नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सीको ठहर छ ।

सीपीआाईमा कुन वर्ष नेपाल कतिऔं स्थानमा ?

सीपीआई २०१९ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २५ औं स्थान, भारत ४१ अंक प्राप्त गरी ८० औं स्थान, श्रीलंका ३८ अंक प्राप्त गरी ९३ औं स्थान, नेपाल ३४ अंक प्राप्त गरी ११३ औं स्थान, पाकिस्तान ३२ अंक प्राप्त गरी १२० औं स्थान, मालदिभ्स २९ अंक प्राप्त गरी १३० औं स्थान, बंगलादेश २६ अंक प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३ औं स्थानमा रहेका छन् ।

छिमेकी मुलुक चीनले ४१ अंक प्राप्त गरी ८० औं स्थानमा रहेको छ । यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८७ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने सोमालिया ९ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा सूचीकृत भएको छ ।