सातै प्रदेशमा राष्ट्रिय सभा चुनावकाे मतदान हुँदै, परिणाम आजै सार्वजनिक हुने

सातै प्रदेशमा राष्ट्रिय सभा चुनावकाे मतदान हुँदै, परिणाम आजै सार्वजनिक हुने

राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्यका लागि अहिले मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म हुने छ । 

देशका सातै वटा प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरेक प्रदेशमा तोकिएको मतदान स्थलमा मतदान भइरहेको हो ।  

प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका वडा नम्बर ४ को वडा समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान भइरहेको छ । 

यस्तै प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान भइरहेको आयोगले जनाएको छ ।

सात प्रदेशमा पाँच सय ५० जना प्रदेश सदस्य र एक हजार पाँच सय ६ जना पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ । मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भयो ।  

राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना यही फागुन २० गते दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । 

राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना चुनावमार्फत छानिने छन् ।   

राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन् ।  १८ सदस्यका लागि भएको चुनावमा ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।