कञ्चनपुरमा जाडो छल्न बालेको आगोले घर जलेर नष्ट

कञ्चनपुरमा जाडो छल्न बालेको आगोले घर जलेर नष्ट

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका १ का रामबहादुर बोहराको घर जलेर नष्ट भएको छ । बुधबार राती ताप्न बालेको आगोले घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।  प्रहरीका अनुसार ताप्न बालेको आगो घरको काठमा लागेपछि घर जलेको हो ।

ताप्नको लागि बालेको आगो त्यसै छोडेर बोहरा परिवार सुतेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताउनुभयो । राती करिब १ बजेतिर छिमेकीले घरको धुरीबाट आगोको मुस्लो देखेपछि आगलागीबारे थाहा भएको हो ।

आगलागीबाट करिब १० लाख बराबरको क्षती भएको छ । बोहराको घरमा राखेको दुई भकारी धान,७ बोरा गहुँ,डेढ तोला सुन, बाकसमा भएको १ लाख ५० हजार नगदसहित लत्ताकपडा र दुईतले काठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घर जलेपछि बोहरा परिवारको बिचल्ली भएको छ ।