श्रीमतीले हनिमूनमा आमालाई पनि सँगै लगिन्, त्यसपछि श्रीमानले ...........

श्रीमतीले हनिमूनमा आमालाई पनि सँगै लगिन्, त्यसपछि श्रीमानले ...........

एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घटना सार्वजनिक भएको छ । लण्डनकी ३४ वर्षीया लरेन वालले १९ वर्षको हुँदा पल ह्वाइटसँग विवाह गरेकी छिन् । उनले आफ्नी आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिले पनि माफी नदिने बताएकी छिन् ।

उनकी आमा जुली, जो अहिले ५३ वर्ष पुगिन्, ले उनको विवाहमा २५ हजार पाउन्ड (करिब ३७ लाख रुपैयाँ) खर्च गरिन् । आमाप्रति आफू आभारी भएको देखाउन लरेनले दुई हप्ता लामो हनिमुनमा उनलाई पनि सँगै लगिन् ।

हनिमुनबाट फर्किएको आठ हप्तापछि पल घरबाट निस्किए र त्यसको ९ महिनापछि जुलीले बच्चा जन्माइन् र यससँगै उनीहरुले आफूहरु जोडी भएको घोषणा गरे ।

लरेनले मिररसँगको कुराकानीमा पल उनकी आमासँग सधैं राम्रोसँग प्रस्तुत हुने गरेको बताइन् तर उनको यस्तो व्यवहारमा आफूले कुनै शंका नगरेको पनि उनले स्पष्ट पारिन्  ।

‘मैले यसलाई अचम्म ठानिनँ किनभने मेरी आमा उनको सासु आमा हुन् । पलले मेरी आमासँग निकै मित्रवत् व्यवहार गर्दथे । उनीहरु सँगै हुँदा निकै हाँस्थे, रमाउँथे । यसमा मैले चिन्ता गर्नुपर्ने कुनै पनि कारण देखिनँ । आखिर कसले देख्ला र ?

तर एकदिन लरेनकी बहिनीले जुलीको फोन चलाउँदा उनी र पलबीचको संवाद देखिन् । जुलीले सबै कुरा अस्विकार गरिन् र पलले लरेनलाई आफ्नो फोन छुन पनि दिएनन् ।

त्यसको केही दिनपछि पलले आफ्नो विवाहको औंठी फुकाले र लरेन र उनका सात महिने छोरीलाई घरमै छोडेर आफू भने निस्किए । जब उनका श्रीमान् आफ्नै आमासँग बसिरहेका छन् भन्ने थाहा पाए तब लरेन असाध्यै तनावमा भइन् ।

‘मेरो लागि यो भयानक अनुभव थियो । एउटी आमाले आफ्नी छोरीलाई यो भन्दा नराम्रो के गर्न सक्लिन् । उनले मेरो श्रीमान् खोसिन्, मेरो परिवार र सपना दुबै चकनाचुर पारिन् । त्यसका लागि म मेरी आमालाई साँच्चै नै कहिले पनि माफी दिन सक्दिनँ ।’

पल र लरेनको एक स्थानीय पबमा भेट भएको थियो । त्यसलगत्तै उनीहरु नजिकिए । सन् २००४ को मार्चमा छोरीको जन्म भएपछि पलले उनलाई विवाहको प्रस्ताव राखे ।

लरेन आफ्नो सम्बन्ध बलियो हुँदै गएकोमा निकै उत्साहित थिइन् र दुबैजनाको भविष्यबारे सोचेर उनी दंगदास हुन्थिन् । ‘सबै कुरा राम्रो थियो भनेर सोच्थेँ, सायद म सानै भएकोले पनि त्यस्तो सोच्थेँ । उसले मलाई आफ्नो बाँकी जीवन मसँगै बिताउने कुरा गर्दथ्यो,’ लरेनले भनिन् ।

तर हनिमुनपछि जब पलले घर छोडे, लरेनले आफ्ना श्रीमान् आमासँग बसिरहेका छन् भन्ने गाइँगुइँ हल्ला सुनिन् । त्यसपछि उनले आमालाई बाटोमा हिँड्दा गर्भवती भएको पनि देखिन् ।

लरेनका अनुसार जुलीले आफू गर्भवती भएको कुरा अस्विकार गरिन् । आफ्नो पेट सिस्टका कारण ठूलो भएको उनले बताइन् । त्यतिबेला लरेनको सम्बन्धविच्छेद भइसकेको थियो र उनी आफ्नो जीवन भिन्न तरिकाले व्यतित गर्ने प्रयासमा थिइन् ।

जब जुलीले बच्चा जन्माइन् तब लरेनले उनलाई अन्तिम टेक्स्ट मेसेज पठाइन्, ‘त्यसो भए सिस्ट फाल्नुभयो र?’ जुली र पलले त्यसको पाँच वर्षपछि विवाह गरे र लरेनले छोरीका खातिर उनीहरुको विवाहमा आफ्नो उपस्थिती देखाइन्  ।

लरेनको आफ्नी आमासँग खासै भेट हुँदैन । उनी अहिले पनि पलसँगको वैवाहिक जीवनमा नै छिन् ।जीवनमा खुसीको बाटो रोज्नु उनको लागि सहज नभएको उनी बताउँछिन् । तर यति हुँदाहुँदै पनि उनी अब अघि बढिसकेकी छिन् र उनले नयाँ पार्टनर पाइसकेकी छिन् । उनी अहिले आफ्नो चौथो सन्तानलाई जन्माउने तरखरमा छिन् ।