दार्चुलाको मार्मामा सडक योजना विस्तार

दार्चुलाको मार्मामा सडक योजना विस्तार

दार्चुला : मार्मा गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ का विकट बस्ती जोड्ने गरी धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेका दुवै सडकलाई विकट ग्रामीण बस्तीसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको हो ।

सडक सञ्जालमा नजोडिएका बस्तीलाई सडकको पहुँचसम्म ल्याउन गत वर्षदेखि स्थानीय सरकारले सडक निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए । गाउँपालिकाको सबैभन्दा ठूलो बस्ती रहेको वडा नम्बर १ को जुडे, दर्मा, ताकु, घोल्जर तोलीमाडाँै, दह र लोयोलगायतका बस्तीसम्म सडक पु¥याउने गाउँपालिकाको योजना छ ।

गाउँपालिका–१ को पारिबगरदेखि घोल्जरसम्म कूल २३ किलोमिटर सडक निर्माण हुने गाउँपालिकाका सब–इञ्जिनियर विक्रम जोशीले जानकारी दिए । गत वर्षबाट सडक निर्माणले गति लिएको हो । यो सडकमा हालसम्म झण्डै रु ५० लाख खर्च भएको छ ।

अहिलेसम्म साढे तीन किलोमिटर क्षेत्रसम्म सडकको ट्र्याक खुलाइएको छ । वडा नम्बर १ को दर्मधार बस्तीसम्म सडकको ट्र्याक खुलेसँगै जीप पुगेको गाउँपालिका–१ का वडाध्यक्ष वीरेन्द्रसिंह बोहराले जानकारी दिए । 

सडक दुर्गम बस्तीसम्म पुग्न थालेपछि स्थानीयवासी खुशी भएका छन् । साविकको गाविस हुँदा पनि स्थानीयवासीले सास्ती भोग्दै आएका थिए । जनसङ्ख्याको हिसाबले यो वडा सबैभन्दा ठूलो छ । यो वडामा तीन हजारभन्दा बढीको बसोबास छ । 

लोया बस्ती सबैभन्दा विकट बस्ती हो । लोया, दह र तोलीमाडौँमा मात्र झण्डै १०० घरधुरीको बसोबास छ । “विगतमा यहाँका मासिनले पाँच घण्टा हिँडेर स्वास्थ्य सेवा लिन पारिबगर आउनुपथ्र्यो”, अध्यक्ष बोहराले भने, “अहिले गाउँपालिका भएपछि घोल्जरमा स्वास्थ्य केन्द्र राखिएको छ, यहाँका चार बस्ती लोया, दह, तोलीमाडौँ, घोल्जरका स्थानीयले सेवा पाएका छन् । सडक पु¥याउन सक्यो भने यो क्षेत्रका नागरिकले स्थानीय सरकारको अनुभूति गर्नसक्ने अवस्था छ ।”

यो वर्ष पारिबगर घोल्जर सडकका लागि झण्डै रु एक करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको समपूरक विशेष अनुदानअन्तर्गत यो सडक बन्न लागेको हो । सडक निर्माणको बोलपत्र गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकाकै वडा नम्बर ३ को बजानी बस्ती जोड्ने गरी सडक निर्माण भइरहेको छ । लटिनाथ बजार क्षेत्रबाट सार्सी हुँदै अन्तिम बस्ती बजानीसम्म सडक पुगेको छ । लटिनाथदेखि बजानीसम्मको साढे ६ किलोमिटर क्षेत्रमा सडकको ट्र्याक खुलाइएको वडाध्यक्ष पुष्कर विष्टले जानकारी दिए । 

सडक नहुँदा वडा कार्यालय र गाउँपालिका सदरमुकाम पुग्न घण्टौँ समय लाग्ने गरेको थियो । सडकको पुगेसँगै स्थानीयवासीलाई राहत हुने विष्टको भनाइ छ । अहिले सडकको ट्र्याक खुला गरिएको छ ।

सडक स्तरोन्ति भएपछि नियमित सवारी चलाउन सकिने उनले बताए । यो सडकलाई बैतडीको डिलाशैनी गाउँपालिका–१ दुनीमा जोडिने छ । स्थानीय सरकार बनेपछि सडक नपुगेको बस्तीलाई जोड्ने योजना अघि सारिएको हो ।

गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ अझै सडकले जोडिएको छैन । विटुले पारिबगर सडकले गाउँपालिकाको वडा नम्बर १, २ र ३ का केही बस्ती छोएको छ । सडक नपुगेको क्षेत्रमा घोरेटो बाटो निर्माण गरिएका छन् । फराकिला घोरेटो बाटोमार्फत अहिलेलाई बाटो सुधार गरिएको गाउँपालिकाका सब–इञ्जिनियर जोशी बताउँछन् । दुई सय आठ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकाको जनसङ्ख्या झण्डै १५ हजार छ । भूगोलको हिसाबले विकट ठाउँमा बस्ती भएका कारण वडा नम्बर ६ को शेरी र वडा नम्बर ५ को मुरैसम्म सडक पु¥याउन कठिन छ ।

यो क्षेत्रलाई खलङ्गा नौगाड सिप्टी हुँदै मार्मा अपि हिमाल जोड्ने गरी सडक बनाउने योजना छ । सुदूरपश्चिम प्रदेश सरकारमार्फत नौगाड र मार्मा जोड्ने गरी सडक निर्माण हुने गाउँपालिकाले जनाएको छ ।