कञ्चनपुर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताउनु भएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित आज भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले तीनवटै सरकारले यातायात क्षेत्रको व्यवस्थानमा अग्रसरता लिइरहेको बताउनुभयो ।
सातै प्रदेशका यातायात विकास मन्त्रीदेखि सचिव तथा सरोकारवालासित पनि यस विषयमा छलफलको शुरुआत गरेको उहाँले बताउनुभयो । यातायात कम्पनीका समस्या, स्थिर पूँजी रुपान्तरण र भाडा समायोजनका विषयमा समेत छलफल भइरहेको बताउँदै ती विषय चाँडै व्यवस्थित हुने उहाँको भनाइ छ ।
भीमदत्तनगर बसपार्क भारतीय शहरस्थित पनि दूरीका हिसाबले नजिक रहेको भन्दै उहाँले यो बसपार्कको निकै महत्व रहेको बताउनुभयो । भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क आधुनिकीकरणका लागि नगर विकास कोषले सात करोड ५० लाख ऋण सहयोग रहेको छ ।
चार सय बस अट्ने क्षमता रहेको बसपार्कमा सुरक्षा डेस्कका साथै यात्रुको सहजताका लागि विभिन्न सेवा प्रदान गरिएको छ ।
भीमदत्त नगरपालिकाको प्रथम स्थापना दिवसका अवसरमा आयोजित बसपार्क उद्घाटन समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले महाकाली नदीमा रहेको शारदा ब्यारेज बनवासा पुल १२ औँ घण्टा सञ्चालनमा ल्याउन र भीमदत्त बसपार्कलाई अन्तर्रा्ष्ट्रिय बसपार्कका रुपमा विकास गर्न आग्रह गर्नु भएको छ ।