बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टको काेठा नम्बर १०१ मा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटककाे मृत्यु भएको छ । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकाे थियाे । अस्पताल ल्याउने वित्तिकै चिकित्सकले उनीहरूलाई मृत घाेषणा गरेका थिए ।  

मृत्यु हुनेमा ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनव रहेका छन् । त्यसैगरी अर्काे परिवारका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेकाे प्रहरीले जनाएको छ ।

झ्याल ढोका बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर बेहोस भएका उनीहरूको राती नै मृत्यु भएको हुनसक्ने प्रहरी अनुसन्धानले जनाएको छ ।

महाराजगञ्ज प्रहरी विटका डिएसपी उमेश लम्सालका अनुसार अहिले उनीहरूकाे  मुचुल्का उठाउने र परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेकाे छ ।