ओलीले मोदीलाई भने- थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको छ

ओलीले मोदीलाई भने- थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको बताएका छन्।

विराटनगरमा निर्माण सकिएको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फेरेन्स भएको थियो।

सो भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। ‘मित्रताका आधारमा काम गर्‍यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौं,’ प्रधानमन्त्री ओलीले भने,‘ वार्ताका माध्यमबाट हामीबीच थाँती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ।’

उनले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको बताए। ‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ,’ ओलीले भने।

उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए। ‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु। यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने छ,’ ओलीले भने।

ओलीपछि बोलेका मोदीले सुरूमा नेपालीमा कस्तो छ भनेर सोधेका थिए। उनले नेपाल-भारत सम्बन्ध पछिल्लो समयमा अभूतपूर्व सहयोग देखिएको बताए।

‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौं। मलाई आशा छ यो नयाँ दशक भारत(नेपाल सम्बन्धको स्वर्णीम दशक बनोस्,’ मोदीले भने। उनले नेपाल भ्रमणको निम्तो दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए।

‘मलाई निमन्त्रणा दिनुभयो धन्यवाद छ। म यस वर्षको कार्यतालिका बनाउँदैछु,’ मोदीले भने,‘यस वर्ष म जरूर नेपालीसँग समय बिताउने छु।’ सम्बोधनको अन्त्यमा उनले नेपालीमा भने(फेरि भेट होला।