सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ । सोमवार प्रदेश सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठीले पठाएको पत्र पढेर सदनलाई सुनाएसँगै अधिवेशन शुरु भएको हो । अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन दलका शीर्ष नेताहरूले शुभकामनासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकको शुरुवातमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले सरकारलाई जनभावना अनुरूप तीव्र गतिमा काम गर्न सुझाउनुभयो । प्रदेश सरकारले गरेको राजधानी तोक्ने निर्णयको कार्यान्वयन जस्ता महत्वपूर्ण विषयमा उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साथै कानुन कार्यान्वयन र छाउपडी प्रथाको अन्त्यका लागि समेत तामाङले सरकार तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विगतमा तर्जुमा भएका कानुन कार्यान्वयन नभएको व्यापक जन गुनासो आएको उहाँले बताउनुभयो । सरकारले यी जनताका गुनासा सम्बोधनमा जोड दिनु पर्ने उहाँको भनाई छ । प्रतिपक्षी दलले समेत कानुनको कार्यान्वयनसँगै सरकार अनियमितताको बाटोमा अग्रसर भएको भन्दै मुख्यमन्त्रीले यसको नियमन गर्नुपर्नेमा जोड दिएका छन ।

सरकारका मन्त्रीहरू बिना लगामका घोडाजस्ता भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा रण बहादुर रावलले बताउनुभयो । प्रदेशको सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक अनियमितता भएको आरोप लागेको छ ।

मन्त्रीहरूलाई चेन अफ कमान्डमा राख्न नसकिएको भन्दै प्रदेश सरकार सजग भएर अघि नबढे जनताको हीतमा कुठाराघात हुने उहाँको तर्क छ । अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाका सांसद मालामती कुमारी रानाले समेत सरकार भ्रष्टाचारमा अघि बढेको र कानुन कार्यान्वयनमा फितलो बनेको आरोप लगाउनु्भयो ।

प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १२ : १५ बजे आह्वान गरिएको छ। भोलि प्रदेश सभा स्थापना भएको अवसरमा ‘प्रदेश सभा दिवस’ मनाउने सचिवालयले तयारी समेत रहेको छ ।