सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत

सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत

प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव गरिने भएकाे छ ।  कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । 

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रकृया अघि बढाउन लागिएकाे हाे । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गर्नुभएको हो । बैठकमा तुम्बाहाङ्फेले दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन सम्बोधन गरेको पनि बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई आइतबार बसेको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेपछि साेमबार संसद्को बैठक बसेको हो ।

तुम्बाहाङ्फे नेकपाबाट सांसद बनेर उपसभामुद बन्नुभएको थियो । कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि गएकाे असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महराले राजिनामा दिएपछि तुम्बाहाङ्फेले प्रतिनिधि सभामा बैठकको अध्यक्षता गर्नुभएको थियो ।