संसदलाई सम्बाेधन गर्दै उपसभामुख पदबाट तुम्बाहाङ्फेकाे राजीनामा

संसदलाई सम्बाेधन गर्दै उपसभामुख पदबाट तुम्बाहाङ्फेकाे राजीनामा

शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनु भएको छ । सोमबार बसेको प्रतिनिधि सभाकाे संसद बैठकलाई सम्बाेधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनु भएको हो । राजीनामा दिँदै उहाँले दुई वर्षसँगै रहेर काम गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद पनि दिनु भएकाे छ । 

उपसभामुखले राजीनामा दिएसँगै सभामुख चयनकाे प्रकृया पनि अब अघि बढ्ने छ । उपसभामुखको राजीनामासँगै बैठक फेरि दिउँसाे १ बजे बस्ने गरी स्थगित भएकाे छ । आजै दिउँसो १ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुहुने छ ।  

बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । सचिवालय स्राेतका अनुसार यही माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ ।

सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा पुष्पा भुषाललाई उठाउने तयारी गरेकाे छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।