सडक छेउमा उखु र केराखेती

सडक छेउमा उखु र केराखेती

बाजुरा : कृषि ज्ञान केन्द्र बाजुराले सडक छेउछाउको जमिन विविध कृषि उत्पादनको लागि प्रयोग गर्ने भएको छ । सडक सुरक्षा, जमिनको उपयोग र कृषि उत्पादनका लागि सडक छेउको जमिनलाई प्रयोग गर्ने नीतिसहित केन्द्रले योजना अघि सारेको हो । 

 पहिलो चरणमा जिल्लाको इकडी गाडदेखि मार्तडीसम्मको ४० किलोमिटर जमिन उपयोग गरिने कृषि प्रचार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिए । उर्बर र मलिलो जमिन क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचान गरी केरा र उखु खेती गर्ने गरी काम शुरु गरिएको अधिकृत जैसीले बताए । 

 उक्त कार्यक्रमबाट जमिन सुरक्षित हुने र हरियाली पनि देखिनेछ । साथै बोटबिरुवा भएको स्थानमा पहिरोको जोखिम कम हुने हुँदा बहुउपयोगको नीति लिइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । स्याउदेखि, सिमीसम्म, आलुदेखि कोदोसम्मको बजार जिल्ला बाहिर विस्तार गर्न सफल ज्ञान केन्द्रले फेरि नयाँ योजना अघि सारेको हो । 

 सडक नजिकै बस्ने स्थानीयवासीसँगकै सहकार्यमा खेती गरिने बताइएको छ । स्थानीय कृषि समूह, कृषि सहकारी तथा गाउँ टोललाई साथमा लिएर उत्पादनमुखी र किसानलाई प्रत्यक्ष आयमूलक गतिविधि समेट्ने योजनासहित काम थालिएको कार्यालय प्रमुख गोविन्द सिजापतिले बताए ।

 उखु र केराजस्ता नगदेबाली सडक छेउछाउमै उत्पादन भएमा बिक्री वितरण गर्न सजिलो हुने र ठूलो बजारसम्म पु¥याउन नपर्ने हुँदा योजना सफल हुने ज्ञान केन्द्रको विश्वास छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा पहिलो पटक यो कार्यक्रम शुरु गर्न लागिएको हो । 
    
 राम्रो सम्भावना देखेर नै यो कार्य गर्न लागिएको र यसका लागि आवश्यक बजेटसहित प्रस्तावना ज्ञान केन्द्रले माग गरेको कार्यालय प्रमुख सिजापतिले बताउनुभयो । ज्ञान केन्द्रले नयाँ र किसान लक्षित गतिविधि बढाउँदै लगेको छ । 
    
 साँफे–मार्तडी सडकअन्तर्गत बाजुरा प्रवेश गरेपछि सडक दाँयाबाँयातर्फ प्रायः सुक्खा अनि पहिरो जाने क्षेत्र बढी छ । त्यसको व्यवस्थापन र कृषि क्षेत्रको आकर्षणका लागि केन्द्रले शुरु गरेको अभ्यास सकारात्मक रहेको कृषि अगुवाको भनाइ छ । यस्ता गतिविधिले अन्य किसानलाई पनि केही पाठ सिकाउने विश्वास गरिएको छ ।
    
 कम लागत र मेहनतमै उखु र केरा उत्पादन हुने गर्छ । कृषकको आम्दानी बढाउन र रोजगारीको सिर्जना गर्न अभियानको रुपमा परियोजना अघि बढाइएको हो । परियोजना सञ्चालन गर्न खोजिएको सडक क्षेत्र उखु र केराका लागि उर्बर भूमि मानिन्छ । ज्ञान केन्द्रले यो वर्ष उखु खेती गर्ने र अर्को वर्षबाट केरा खेती मौसमअनुसार लगाउने बताएको छ । 

 बूढीगंँगा र बडिमालिका नगरपालिकाका उखु रोप्न चाहने र उखु बेच्न चाहने दुवै कृषकलाई सम्पर्कमा आउन सूचनासमेत जारी गरिएको छ । यही माघ १४ गतेसम्म सम्पर्क राख्न सूचनामार्फत जानकारी गराएको सूचना अधिकारी जैसीले बताए ।

यस परियोजनामा एक हजार बढी किसानलाई प्रत्यक्ष सहभागी गराउने लक्ष्य राखिएको छ । अभियानमा सहभागी भएर उखु र केरा रोपौँ आम्दानीमा वृद्धि गरौँै, बाजुरा गरिबी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने नारा परियोजनाअन्तर्गत तय गरिएको छ ।