दिपायल सिलगढी नगरपालिकाको एकै वडामा १८ छाउपडी गोठ

दिपायल सिलगढी नगरपालिकाको एकै वडामा १८ छाउपडी गोठ

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिककाे एकै वडामा १८ वटा छाउपडी गोठ रहेको पाइएको छ ।महिला अधिकार मञ्चकी अध्यक्ष तथा छाउगोठ अनुगमन समितिकी संयोजक सीता बिकसहितको टोलीले पालिकाकाे वडा नम्बर - ८ लडागडामा ठूलो संख्यामा छाउगोठ भेटेको हो । 

नगरपालिकाको दुई गाउँमा मात्रै यति ठूलो सङ्ख्यामा छाउगोठ भेटिएपछि आफूहरु अचम्ममा परेको संयोजक सीता बिकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुई गाउँमा त यति ठूलो सङ्ख्यामा छाउगोठ छन् । अन्य वडामा कति होलान ? हामी पुरै नगरपालिकाकाे तथ्याङ्क सङ्कलन गर्दैछौ‍ । जहाँ शिक्षित छन् त्यहाँ बढी छाउगोठ छन् ।’

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका छाउगोठको तथ्यांक सङ्कलन गरी सबै छाउगोठ भत्काइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाउगोठको तथ्यांक सङ्कलन हुँदै छ । जति छाउगोठ छन् सबै भत्काउने छौँ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ । 

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाइ छाउगोठमा राख्ने चलन कायमै रहेको छ । गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि अहिले डोटीसहित समग्र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान नै सञ्चालन भएको छ । 

आफ्नो नगरपालिकामा भएका छाउगोठहरु तत्काल भत्काउन सबै वडाध्यक्ष र कर्मचारीलाई पत्राचारसहित निर्देशन दिएको दिपायल सिलगढी नगरपालिकाका नगर उप-प्रमुख शिवराज खड्काले बताउनुभयो ।