राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

यही माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पुर्‍याइसकिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘‘स्थानीय तहबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतदातालाई आउन गृह मन्त्रालयले सुरक्षा निकायको समन्वयमा सुरक्षित आउने र शान्तिपूर्ण रूपमा मतदान गराउने व्यवस्था मिलाइएको छ ।’’

मतपत्र छपाइ गरी प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, बाग्मती प्रदेशको ललितपुरको जावलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले र स्थानीय तहका सदस्यले सेतो कागजमा रातो रङ्गको मसीले छापेको मतपत्रमा मतदान गर्ने छन् । मतदानका लागि छ हजार २६० थान मतपत्र छपाइ गरिएको छ ।